पोखरा २ मा ज्येष्ठ नागरिकहरूको निशुल्क स्वास्थ्य परीक्षण, २ सय २६ लाभान्वित


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. २ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित निशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताए । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै गुरुङले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताइन् ।वृद्ध उमेरका उनीहरूलाई गरिने व्यवहारमा सम्मान र हार्दिकता हुनु पर्नेमा उहाँको जोड थियो । स्वास्थ्य मानव जीवनको पहिलो प्राथमिकताको विषय भएकाले आम नगरवासीहरूको स्वास्थ्य सुरक्षाप्रति महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रष्ट पारे । स्वास्थ्य पहुँच सहज नहुने, आफै अस्पताल जान नसक्ने र नियमित स्वास्थ्य परीक्षणको सुविधाबाट वञ्चित भएका ज्येष्ठ नागरिकहरूलाई वडामा नै सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण सहित १ महिनालाई पुग्ने औषधी समेत निःशुल्क उपलब्ध गराइएको अध्यक्ष प्रधानाङ्गले बताए ।

शिविरमा सुगर प्रेसर, मुटु सम्बन्धी जाँच तथा परामर्श र जनरल हेल्थ चेकअप लगायत सेवा दिइएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपेन्द्र सुनारले जानकारी दिए । सुनारका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा उच्च रक्तचापको समस्या पहिलो र मधुमेहको समस्या दोस्रो नम्बरमा रहेको छ । यसको नियन्त्रणका लागि खानपानमा विशेष ध्यान दिन उनले सुझाव समेत दिए ।

नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले निशुल्क स्वास्थ्य शिविरको प्रशंसा गर्दै गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले ज्येष्ठ नागरिककालागि घर घरमा स्वास्थ्य सेवा पुर्याउनु पर्नेमा जोड दिए । उनले “रोग लागिपछि उपचार गर्नु भन्दा रोगको बाटै छेक्नु जाति” भने जस्तै वडा वडामा स्वास्थ्य सचेतना अभियान संचालन गर्न महानगरले आगामि बर्षको बजेटमा कार्यक्रम समेट्न कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङ र वडा अध्यक्ष प्रधानाङ्गलाई सुझाब दिएका थिए ।
कार्यक्रममा वडा सदस्य तथा सहरी स्वास्थ्य केन्द्र २ को सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गोमा सुवेदी र सचिव याचना श्री खवास लगायतले स्वास्थ्य सचेतना र ज्येष्ठ नागरिकहरूको स्याहार सुसारका सन्दर्भमा विशेष ख्याल गर्न आग्रह गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।