गण्डकीमा पोलियोबिरुद्धको आई.पि.भी खोप अभियान शुरु


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित




वेभ तस्विर

जेठ १३ पोखरा । गण्डकी प्रदेशमा पोलियो रोगबिरुद्धको ईनएक्टिभेटेड पोलियो भ्याक्सिन (आई.पि.भी) खोप अभियान शुरु गरिएको छ । पोलियो उन्मुलनका लागि देशैभर सञ्चालन गरिने आई.पि.भीं खोप अभियान अन्तर्गत गण्डकीमा आजदेखि अभियान सञ्चालन गरिएको हो ।

आगामी जेठ २६ गतेसम्म जारी रहने यो अभियान गण्डकीका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाईने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अभियान अन्तर्गत खोप लगाईने बालबालिकाहरुलाई विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए । आई.पि.भी. खोप अभियानका लागि गण्डकीमा ११ जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्र निर्धारण गरिएको छ भने जसका लागि सोहि मात्रामा स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वयम्सेविका खटाईने उनले बताए । विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई भने अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने उनले जानकारी दिए ।

आई.पि.भी.खोप अभियान अन्तर्गत सबै बालबालिकालाई भने खोप नलगाईने सामाजिक विकास तथा स्वास्थ्य निर्देशनालय गण्डकीका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए । उनका अनुसार वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आई.पि.भी.खोप लगाइनेछ । सो समयमा आई.पि.भी.खोप उत्पादन नभएका कारण ती बालबालिकालाई खोप लगाइएको थिएन । ‘तीनै छुटेका बालबालिकालाई अहिले अभियान चलाएर खोप लगाउन लागिएको हो’–अधिकृत अर्यालले भने । अन्य बालबालिकालाई भने नियमित खोप लगाउने बेलामा नै आई.पि.भी.खोप लगाइएकाले अहिले सो खोप लगाउन आवश्यक नभएको उनले प्रष्ट्याए ।

खोप अधिकृत एकनारायण लम्सालका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९, तनहुँमा १४ हजार ५ सय १२ र बागलुङमा ११ हजार ७ सय ७७ जना बालबालिकालाई आई.पि.भी.खोप लगाईंदैछ । त्यस्तै, स्याङ्जामा १० हजार १ सय ४५, गोरखामा ८ हजार ५ सय ३९, लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय, म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई आई.पि.भी.खोप लगाईने उनले जानकारी दिए ।

अभियान अन्तर्गत देशैभर १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाईने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।