
साउन ११ पोखरा । कास्की मोडनाइज्ड एकेडेमीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा व्यवस्थापन, विज्ञान र होटेल म्यानेज्मेन्ट संकायका विद्यार्थीहरुको स्वागतमा विद्यालय र कक्षा–१२ को संयूक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
पोखरा–१४ स्थित विद्यालयमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले विद्यार्थी पढाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सबल बन्नुपर्नेमा बताए । उनले सोही अनुसार विद्यालयमा कक्षाहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिए । उनले भने ‘अहिलेको अवस्थामा हामी पढाईलाई मात्र होइन खेलकुद, कला, नृत्य, सङ्गीत, नाटक सबै क्षेत्रमा विद्यार्थीलाई सबल बनाउनु पर्छ भनि सोही खालका कक्षाहरु समेत सञ्चालन गर्दै आएका छौं । अव विद्यालयलाई राष्ट्रको एक नमुना विद्यालय बनाउन जसको लागि कक्षा टप्नु वा जि.पि.ए ४ ल्याउने बनाउनु भन्दा पनि जीवन टप्ने बनाउनु पर्छ भन्ने हाम्रो योजना हो ।’
उनले विद्यार्थीलाई एकाग्रताका साथ आफ्नो लक्ष्य प्राप्तिमा सर्मपित हुन आग्रह गरे । लक्ष्य प्राप्तीका लागि अनुसासन, मिहेनत र चरित्रको प्रमुख महत्व हुने उनको भनाई थियो ।
कार्यक्रममा विद्यालयको नीति नियम, संस्कार, अनुशासन लगायतका विषयमा विद्यालयका सह–प्रिन्सिपल एवं +२ कोर्डिनेटर शिवलाल उपाध्यायले प्रकाश पारेका थिए ।
यस्तै कार्यक्रममा विद्यालयमा पढाई हुने विषय र शिक्षण पद्धतीकाबारेमा शिक्षकहरु शुशिल अधिकारी, खेम चालिसे र इन्द्र भुषाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले विद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए ।
विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा –१२ का क्रिष्टीना सापकोटा, खुशी थापा र शिक्षक शिवु ढकालले स्वागत र कक्षा –११ का एलिसा श्रेष्ठ, सुविच्छा हिराचनले आफुहरुलाई गरिएको स्वागतप्रति आभार व्यक्त गरेका थिए । विविध सांस्कृत कार्यक्रम सहित सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन अनुराग अधिकारीसहित कक्षा १२ का विद्यार्थीहरुले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।