शिशिर उजाड
पोखरा
पोखरा महानगरपालिका वडा नं. १६ को अमरदिपमा संचालन भएको स्याउ मेला तेस्रो दिन पनि जारी रहेको छ ।
नेपालीजनका महत्वपुर्ण चाडपर्वलाई लक्षित गर्दै बिहिबार देखि जारी मेलामा स्याउ खरिद गर्नेको उल्लेख्य मात्रामा घुईचो लाग्ने गरेको छ ।स्वदेशी उत्पादनको प्रर्वद्धन,कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले स्थानीय कृषकद्वारा संचालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो । मेलामा पोखराबाट मात्र नभई आसपासका क्षेत्रबाट पनि उपभोक्ताहरु मेला स्थलमा आएको फर्मका संचालक वृन्दा तिवारीले जानकारी दिईन् ।उनका अनुसार मेलामा बिभिन्न प्रजातिका स्याउ किन्ने उपभोक्ता मात्र नभई स्याउको अवलोकन गर्नेहरुको पनि भिड लाग्ने गरेको छ । मेलामा जुम्लाको सिंजा कृषि तथा फलफुल केन्द्र र मुस्ताङको छिरिङ कृषि केन्द्रमा उत्पादित बिभिन्न जातका स्याउ राखिएको छ ।
रेड, गोल्डेन र रोयल डेलिसियस जातका स्याउको माग अधिक रहेको र ति जातका स्याउमा उपभोक्ताको आर्कषण बढेको अर्का संचालक बासुदेव तिवारीले बताए । विदेशी स्याउलाई विस्थापित गर्न कृषकको फर्ममै पुगेर स्याउ पोखरा ल्याईएको र उपभोक्ताले पनि कृषकको उत्पादनलाई प्रोत्साहन गरेको उनले बताए । फर्मका अर्का संचालक कृष्णहरि तिवारीले मुस्ताङमा उत्पादित स्याउ ब्राण्डिङ भईसकेको अवस्थामा जुम्लाको स्याउलाई पनि ब्राण्डिङ गर्न आवश्यक रहेको बताए । उनले जुम्ली स्याउको माग पनि बजारमा बिस्तारै बढ्दै गएको अनुभव सुनाए । । मेलामा आउने उपभोक्ताले जुम्ली स्याउलाई पनि रोज्ने गरेका छन् । कृषकले अर्गानिक रुपमा उत्पादन गरेका स्याउ, अन्य स्याउको तुलनामा स्वाद र आकारमै भिन्न हुने उनले बताए । अस्वस्थ प्रतिस्पर्धाका कारण पनि स्वदेशी उत्पादनको बजारीकरणमा समस्या आउने गरेको संचालक तिवारीले बताए । मुस्ताङको स्याउ विश्व बजारमा पुग्ने गरेको भएता पनि जुम्लाको स्याउ अझै पनि स्थानीय बजारमै सिमित रहेको उनले बताए ।
यसलाई पनि विश्व बजारमा पुर्याउन बगान व्यवस्थापन, जातको छनौट र प्याकेजिङ्ग लगायतका बिषयलाई ध्यान दिन सके जुम्ली उत्पादन पनि ब्राण्डिङ हुने उनको भनाई छ ।कृषिमा विएस्सी गरेका संचालक तिवारीले स्थानीय उत्पादनको प्रर्वद्धनका लागि बिभिन्न स्वदेशी तथा विदेशी निकायसँग समन्वय भईरहेको पनि बताए । कार्तिक ३ गतेसम्म जारी रहने मेलामा स्याउ मात्र नभई त्यसका अन्य उत्पादन, टिमुरको छोप, किविका बिभिन्न उत्पादनसहित स्थानीय कृषकले उत्पादन गरेका अर्गानिक बस्तु राखिएका छन् । मेला सकिए पनि स्याउको खरिद बिक्रि निरन्तर भईरहने आयोजकले जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैंको अवसरमा शुभकामना व्यक्त…







