डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८१ मा प्रकाशित




डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको छ । डेंगीको हटस्पट बनेको कास्कीमा डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको हो । विद्यार्थीलाई सचेतना जगाएर उनीहरुलाई खोज र नष्ट गर ‘सर्च एण्ड डिष्ट्रोय’ मा परिचालन गर्दा डेंगी नियन्त्रणमा सघाउ पुगेको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सरोकारवालासँग आयोजना गरेको समन्वायत्मक कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

विद्यार्थीलाई सचेतना जगाएर उनीहरुलाई डेंगी लामखुट्टे ‘खोज र नष्ट गर’ अभियानमा सरिक गर्दा त्यसको प्रभाव घरसम्म पुगेको नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले बताए । रेडक्रस कास्कीले सो अभियान सञ्चालन गरेपछि न्यसको प्रभाव देखिएको बताउँदै उनले भने,‘विद्यार्थीलाई सिकाएर व्यवहारमा उतार्न लगायो भने घरमा गएर आफ्ना अभिभावकलाई सिकाउने र गर्न लगाउने गर्दा रहेछन् । जुन डेंगी नियन्त्रणमा प्रभावकारी देखियो ।’

उनले अन्यलाई भने जति सिकाएपनि र गराएपनि घरमा पुगेर व्यवहारमा नउतार्ने गरेको अनुभव सुनाए । उनीहरु अभियानमा सरिक हुने तर घरमा पुगेपछि आफ्नै घरको वरपर सरसफाई नगर्ने, जमेको पानी नघोप्ट्याउने, टायरहरु यत्रतत्र छाड्ने गरेको उनको भनाई छ ।

जाडोको मौषम भएकाले अहिले डेंगीको संक्रमण घटेपनि यो गर्मी शुरु भएलगत्तै महामारीका रुपमा फैलिनसक्ने उनको चेतावनी छ । त्यसैले यहिबेला अभियान सञ्चालन गर्नसके मात्रै आगामी वर्ष डेंगी नियन्त्रण गर्न सघाउ पुग्ने उनले बताए । ‘अहिले नै विद्यार्थी, आमा समूह, स्थानिय क्लवलगायत परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान सञ्चालन गरौं । तबमात्र नियन्त्रणमा ल्याउन सकिन्छ । नत्र आगामी वर्ष यसले भयावहको स्थिति सिर्जना गर्नसक्छ ।’

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापती डण्डराज शर्मा पौडेलले डेंगीको हट स्पट बनेको कास्कीमा आफूहरुले कास्कीका पाँच पालिकाका ४८ उपशाखामार्फत लामखुट्टे ‘खोज र नष्ट गर’ सञ्चालन गरेको अभियानले केहि हदसम्म डेंगी नियन्त्रण भएको बताए । तर यतिले मात्रै नपुग्ने भन्दै उनले भने,‘यसमा सरकारको ध्यान जान जरुरी छ । बजेट र जनशक्ति थपेर प्रभावकारी कदम चाल्नुपर्छ ।’ अन्यथा आगामी वर्ष कास्कीमा डेंगीको महामारी नै फैलिनसक्ने उनको चेतावनी थियो ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेपनि डेंगी नियन्त्रण गर्न नसकिएको बताए । डेंगी नियन्त्रणका लागि के के गर्नुपर्छ भन्नेबारेमा नगरबासी जानकार छन्,उनले भने,‘तर व्यवहारमा छैन ।’

उनले विद्यार्थी परिचालन गर्दा प्रभावकारी हुने भए त्यसका लागि योजना बनाउन सकिने बताए । त्यसबाहेक सरसफाई नगर्नेलाई दण्ड र जरिवाना दिने गर्नुपर्ने भन्दै उनले भने,‘घर वरपर भाडाँमा, टायरमा वा गमलामा पानी जमाएर राखेको पाइएमा अनुगमन गरेर अन द स्पट कारवाही गर्ने व्यवस्था गर्नुपर्छ ।’

नौलो घुम्तीका अध्यक्ष तथा अग्रज पत्रकार बद्रीविनोद प्रतीकले पोखराको कोर सिटीबाट कवाडी र वर्कसप नहटाउँदा डेंगीको हटस्पट बनेको बताए । मेयरले कार्यभार सम्हाल्दा पहिलो निर्णय नै यहि गर्नुभएको थियो,उनले भने,‘तर कार्यान्वयन नहुँदा अहिले डेंगीको महामारीको कारक बनेको छ ।’

अभियन्ता तथा महिला स्वास्थ्य स्वयम्सेविका भीमा पौडेलले कवाडी र वर्कसप हटाउन सके डेंगी नियन्त्रण हुने बताईन् । ‘तर यो नहटाउने हो भने जति सचेतना अभियान सञ्चालन गरेपनि डेंगी नियन्त्रण हुँदैन ।’

जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले डेंगीका विरामीको यकीन तथ्यांक नहुँदा कार्ययोजना बनाउन नसकिएको बताए । उनले सबै स्वास्थ्य संस्थाबाट रिपोर्ट नआउने तथा नीजि र क्लिनिकमा कतिले जँचाए र कतिमा डेंगी भयो भन्ने रिपोर्ट नआउँदा हचुवाका भरमा कार्ययोजना बनाएर काम गर्नुपर्दा प्रभावकारी नभएको निश्कर्ष सुनाए । हामी सर्च एण्ड डिष्ट्रोयमै चुकेमा छौं,उनले भने,‘यो प्रभावकारी भएन ।’

कास्कीमा जनवरीदेखि हालसम्म करीब एघार महिनाको अवधीमा ९ हजार ३ सय ५५ जना डेंगीबाट संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अफिसर यम बरालले जानकारी दिए । कास्की सबैभन्दा बढी संक्रमित जिल्ला बनेको भन्दै उनले पोखरामा मात्रै चालु आर्थिक वर्षको एघार महिनामा ७ हजार ७ सय ५५ जना संक्रमित भएको उनले बताए । चालु आर्थिक वर्षको सेप्टेम्बरमा सबैभन्दा धेरै ४ हजार ८७ जना संक्रमित भएको उनले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।

उनका अनुसार वडागत हिसाबले पोखरा–८ मा यस अवधीमा सबैभन्दा बढी ८ सय ६६, वडा नम्बर–७ मा ७ सय १ र वडा नम्बर–१७ मा ५ सय ८२ जना संक्रमित भएका छन् । पोखरा अहिले नै डेंगीको हटस्पट बनेको भन्दै उनले भने,‘अहिले नै अभियान सञ्चालन नगर्ने हो भने आगामी वर्ष यसले भयावह रुप लिन्छ ।’

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापतिहरु उर्मिला खड्का र धर्मराज अधिकारी, कोषाध्यक्ष सन्तोष अधिकारी, कार्यवाहक मन्त्री रमा कोइराला न्यौपाने, गैसस महासंघ कास्कीका उपाध्यक्ष इन्दिरा पौडेललगायतले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।