मंसिर १० पोखरा । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ पुस्तक लोकार्पण गरिएको छ ।
पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गरे ।
समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका १०८ जना प्राध्यापकहरूको सङ्क्षिप्त परिचयात्मक जीवनी तथा अनुभवलाई पुस्तकमा समेटेको हो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गुरुङले लामो समय विश्वविद्यालयको सेवामा रही निवृत्त रहेका प्राध्यापकको जीवनी तथा अनुुभव समेटिएको पुस्तक शिक्षाप्रद बन्ने विश्वास व्यक्त गरे । उच्च शैक्षिक क्षेत्र चिन्ताजनक भएको उल्लेख गर्दै उहाँले यसलाई सुधार गर्दै सरकारले फड्को मार्नुु जरुरी रहेको बताए ।
विविधतायुक्त मुलुकलाई अझै राम्रो बनाउन सकिने बताउँदै उहाँले शैक्षिक गुणस्तरीयतामा जोड दिनुुपर्ने आवश्यकता औंल्याए ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले पुस्तक प्रकाशन मार्फत समाजले गरेको रचनात्मक कामको प्रशंसा गरे ।
पुस्तकको समिक्षा गर्दै विन्दुवासिनी सस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले पुस्तकमा प्राध्यापकहरूका जीवनका भोगाई र अनुुभव बहुरंगी बगैंचाका फूल जस्तै गरी प्रस्तुत भएको टिप्पणी गरे । हाम्रो राज्य एवम् समाजले प्राध्यापकहरूलाई हेर्ने दृष्टिकोण लगायतका विषयहरू अनुभवका रुपमा पुस्तकमा आएको उनले बताए ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले निवृत्त प्राध्यापकको परिचय र अनुुभव समेटिएको पुस्तक प्रकाशनबाट विश्वविद्यालयहरूमा प्राध्यापन गर्ने आउँदो पुस्ताका लागि पनि महत्वपूर्ण शिक्षाप्रद बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहसम्पादक प्रा.डा.कृष्णप्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइराला, प्रा.डा.यादव शर्मा गौडेल, प्राज्ञ रमेश श्रेष्ठ लगायतले प्रकाशित पुस्तक एवम् अन्य विविध पक्षमा आ आफ्नो धारणा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।