गोरखाको चुमनुब्रीमा १४ सयको निःशुल्क आँखा जाँच


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०८२ मा प्रकाशित




उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा मोतियाविन्दु भएका ६५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्र, सेराङ गुम्बा र देलेक फाउण्डेशनको संयुक्त आयोजनामा वडा नं ५ स्थित बिही स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो ।

दुई दिनसम्म सञ्चालित शिविरमा पालिकाभित्रका एक हजार चार सय जनाले आँखाको जाँच गराएका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइन । “शिविरमा १४ सय जना स्थानीयले आँखाको निःशुल्क जाँच गराएका छन् । साथै आँखा जाँच गराउँदा मोतियाविन्दु भएकाको तत्कालै शल्यक्रिया गरिएको हो”, उनले भनिन ।

अध्यक्ष लामाका अनुसार वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतको नेतृत्वमा १२ जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले मोतियाविन्दु भएका बिरामीको आँखाको शल्यक्रिया र उपचारसेवा प्रदान गरेका हुन् । शिविरमा आँखाको जाँच तथा उपचारका लागि आएका सबैलाई आवश्यकताका आधारमा औषधि एवं चस्मासमेत वितरण गरिएको उनले जानकारी दिइन। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।