पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ ७

पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको निश्कर्ष निकालिएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ प्रोजेक्टको रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवद्र्धनसहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष महानगरले निकालेको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा–कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म) का सुत्केरी महिला र नवजात शिशुदेखि २ वर्षसम्मका बालबालिकाहरूलाई निरन्तर हेरचाहसहित स्वास्थ्य सेवा, खोप तथा पोषण सम्बन्धी सम्पूर्ण व्यवस्थापनमा प्रभावकारी देखिएको निश्कर्ष महानगरको छ ।

समीक्षा बैठकमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परियोजनालाई महानगरका ३३ वटै वडामा बिस्तार गरिने बताए । उनले भने,‘पाइलोटिङ प्रोजेक्टको रूपमा ५ वडामा परियोजना सफल भएको छ । त्यसैले अब महानगरपालिका भरि नै लागु गरिनेछ’–उनले भने । महानगरपालिका क्षेत्रभरिका लक्षित वर्गहरूले यसको सुविधा प्राप्त गर्ने व्यवस्थाको आवश्यक प्रबन्धका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाई थियो ।

महानगर क्षेत्रको मातृ शिशु मृत्युदरलाई शून्यमा झार्ने योजना सहित महानगरपालिकाले स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु समेत परिचालन गरी नगरवासीको स्वास्थ्य सुरक्षा लक्षित परियोजनाहरूको निरन्तरतामा महानगर प्रतिबद्ध रहेको उनको भनाई थियो ।

महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महिला तथा नवजात शिशु र बालबालिकाहरूको स्वास्थ्य सुरक्षा निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवद्र्धनका लागि नागरिक स्तरमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने बताईन् । यसका लागि विभिन्न प्रकारका शिक्षा तथा जानकारीमूलक हातेपुस्तिकाहरु, सचेतनामूलक प्रचार सामाग्री र महिला तथा बाल शिक्षाका पर्याप्त प्रशिक्षणहरू आवश्यक रहेको उनले बताईन् ।

स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले यो परियोजनाले सकारात्मक नतिजाहरू दिएकाले यसको निरन्तरतामा जोड दिए ।

परियोजना अन्तर्गत महिलाहरूको गर्भावस्था, प्रसव अवस्था, सुत्केरी अवस्था, नवजात शिशु र यो सबै अवस्थाको नियमित परीक्षण तथा चेकजाँचको रेकर्ड कार्ड समेत तयार गर्ने गरिएको महानगरपालिकाकी वरिष्ठ नर्सिङ निरीक्षक सवना श्रेष्ठले बताईन् । परियोजना सञ्चालनमा जापानका विशेषज्ञ तथा प्रतिनिधहरुको सहयोग रहेको महानगरपालिकाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।