प्रधानाध्यापक संघ नेपालको राष्ट्रिय सम्मेलन जेठ २३ र २४ गते पोखरामा हुने


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८२ मा प्रकाशित




पोखरा, जेष्ठ १०
देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा, गैर-राजनीतिक, नाफारहित तथा पेशागत संस्था ‘प्रधानाध्यापक संघ नेपाल (PAN)’ को दोस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते गण्डकी प्रदेशको पोखरामा हुने भएको छ। सम्मेलनको तयारीका विषयमा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराइएको हो।

PAN ले शिक्षा प्रणालीको गुणस्तर सुधार, नेतृत्व विकास, शिक्षक तथा प्रधानाध्यापकहरूको सशक्तिकरण र नीतिगत पैरवीमा उल्लेखनीय भूमिका खेल्दै आएको पानका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौत्तमवे जानकारी दिनु भयो ।
PAN ले “सामुदायिक विद्यालय पनि गर्वका विषय हुन्” भन्ने सन्देश दिँदै सामुदायिक विद्यालयप्रति सकारात्मक दृष्टिकोण विकास गर्न अभियान चलाउँदै आएको छ। अध्यक्ष गौत्तमका अनुसार, “हामी अधिकारको होइन, जिम्मेवारीको कुरा गर्छौं। जब हामी जिम्मेवार हुन्छौं, तब सबै कुरा ठीक हुन्छ। नेतृत्वमा रहेका प्रधानाध्यापकहरूका विद्यालय रोल मोडेल बन्नुपर्छ।”
PAN ले सामुदायिक विद्यालयहरूलाई ‘Educate, Empower, Excel’ गर्ने दिशामा काम गर्दै आएको छ। संस्थाले ‘Redefining Leadership Program’ को माध्यमबाट विद्यालय नेतृत्वलाई २१औं शताब्दीका दृष्टिकोणअनुसार अपडेट गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएको छ।
सन् २०२४ मा स्थापना भएको PAN, अन्तर्राष्ट्रिय संस्था ICP (International Confederation of Principals) को सदस्य समेत हो। यसमा हालसम्म १५ हजारभन्दा बढी प्रधानाध्यापक आबद्ध भइसकेका छन्।
PAN विशुद्ध रूपले पेशागत संस्था हो जसले शिक्षक, कर्मचारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासको पक्षमा कार्य गर्छ। यो संस्था शिक्षामा लिडिङ, लिंकिङ र लर्निङ भन्ने सिद्धान्तमा आधारित छ। PAN को मान्यता छ– “लिड गर्न सके, लिंक गर्न सकिन्छ, अनि मात्र लर्न सम्भव हुन्छ।”

सम्मेलनमा एक हजारभन्दा बढी सहभागी
PAN का अनुसार, सम्मेलनमा करिब १ हजार प्रधानाध्यापक, शिक्षाविद्, पालिकाका प्रमुखहरू, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रत्येक वर्ष फरक-फरक प्रदेशमा थीम आधारित सम्मेलन गर्दै आएको PAN ले यसपटक पोखरालाई केन्द्रमा ल्याएको हो।
सम्मेलनमा ‘PAN अवार्ड २०८२’ वितरण गरिनेछ। जसअन्तर्गत प्रत्येक प्रदेशबाट एक–एक उत्कृष्ट आधारभूत तथा माध्यमिक विद्यालय, एक–एक जना प्रधानाध्यापक, र एक–एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका छनोट गरिनेछ। त्यस्तै, प्रत्येक प्रदेशबाट एक जना बहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई पनि सम्मान गरिनेछ। छनोट प्रक्रिया शिक्षाविद् प्रा.डा. विद्यनाथ कोइरालाको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रूपमा गरिएको हो।

पोखरा घोषणापत्रको तयारी
आगामी पोखरा सम्मेलनमा “पोखरा घोषणापत्र” जारी गरिने तयारी भइरहेको PAN ले जनाएको छ। यस घोषणापत्रमार्फत शिक्षा क्षेत्रमा नवीन सोच, रणनीति र दिगो सुधारका दृष्टिकोण समेटिनेछ। PAN गण्डकीका अध्यक्ष बामदेव पौडेलले संगठनले आगामी दिनमा विद्यालयहरूबीचको असमानता न्यूनीकरण, प्रविधि समावेशीकरण, र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै शिक्षा क्षेत्रमा दीगो परिवर्तन ल्याउने लक्ष्य लिएको छ।

संघीय संरचना र नेतृत्व
PAN को केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौत्तम, गण्डकी प्रदेश अध्यक्ष वामदेव पौड्याल, र कास्की अध्यक्ष अर्जुन कुँवर रहेका छन्। संघले शिक्षा क्षेत्रका नेतृत्वकर्ताहरूलाई आपसमा जोड्ने, सिकाउने र साझा रूपमै अघि बढाउने उद्देश्य लिएको छ।
संघले विभिन्न पालिकाबाट उत्कृष्ट अभ्यासहरू सङ्कलन गर्दै “सिकाउने र सिक्ने” अभियानसमेत सञ्चालन गर्दै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।