भारतमा एयर इण्डियाको ‘एआई १७१’ जहाज दुर्घटना, जहाजमा सवार २४२ जनाकै मृत्यू भएको आशंका


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८२ मा प्रकाशित




२९ जेठ, काठमाडौं ।

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको बोइङ ‘एआई १७१’ जहाज दुर्घटनामा परेको छ । आज दिउँसो भएको दुर्घटनाग्रस्त जहाजमा २३० यात्रु र १२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार रहेको जनाइएको छ । जहाजमा रहेका सबै यात्रुको मृत्यू भएको आशंका गरिएको छ । किनकी जहाज जलेर ध्वस्त भएको छ ।

जहाज उडेको एक मिनेटमै जहाज दुर्घटनामा परेको बताइएको छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको हो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।

पाइलटले दिएका थिए आपतकालीन संकेत ‘मे डे’
२९ जेठ, काठमाडौं ।

भारत गुजरातमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ‘एआई १७१’ जहाज उडाइरहेका क्याप्टेन सुमित सभरवालले दुर्घटनाको ठिक अगाडि आपतकालीन अवस्थाको संकेत दिएको पाइएको छ ।

उनले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । लगत्तै एटीसीले थप जानकारी पाउन सकेनन् । मे डे जहाज गम्भीर आपतकालीन अवस्थामा लिइने संकेत शब्द हो । सामान्यतया तीन पटक पाइलटले मे डे शब्द उच्चारण गरे जहाजको इन्जिन फेल भएको, आगो लागेको, अपहरणमा परेको वा अन्य गम्भीर संकट रहेको अवस्थाका रूपमा बुझिन्छ ।

त्यसपछि आकाशको आसपास रहेका अन्य जहाज र एटीसी मार्फत विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम गरिन्छ । विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीलाई ‘अलर्ट’ गर्ने काम समेत सोही संकेतका आधारमा गरिन्छ ।

दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीपनि रहेको पुष्टि
२९ जेठ, काठमाडौं ।

भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको पुष्टि भएको छ । २४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले उल्लेख गरेको हो ।

जहाजमा ५३ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । विमानमा १६९ भारतीय नागरिक सवार थिए ।

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नरहेको दुतावासको भनाई
२९ जेठ, काठमाडौं ।

लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा नेपाली कोहिपनि नरहेको नेपाली दुतावासले जनाएको छ । विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गर्दा कोहिपनि नरहेको पुष्टि भएको दुतावासले जनाएको हो ।

दूतावासका कन्सुलर सन्जिव शर्माले भने, ‘त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।