अर्गानिक जुम्बाको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


     एभरेस्ट आवाज    
     असार ४ गते २०८२ मा प्रकाशित




पोखरा, असार ४ ।

“एक्सरसाइज फर अ हेल्दियर लाइफ” भन्ने मूल नाराका साथ अर्गानिक जुम्बाको दोस्रो वार्षिकोत्सव बुधबार (असार ४) भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जुम्बाको महत्वमा जोड दिँदै, “शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासका लागि जुम्बा महत्वपूर्ण रहेको बताउनु भयो । शर्माले महिलाहरूको सशक्तिकरणमा यसको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउदै आगामी दिनमा जुम्बालाई उत्पादन र पर्यटनसँग समेत जोड्नुपर्नेमा जोड दिनुभयो ।

विशेष अतिथिहरू पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाही योगी, पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य र पोखरा–६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता स्वास्थ्य र समुदायलाई जोड्ने क्रियाकलापहरूमा वडा कार्यालयबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले संस्थाको प्रगतिको कामना गर्दै आउदो असार १५ गते लेखनाथको गुँदे तालमा आयोजना गरिने रोपाई महोत्सवमा जुम्बा प्रस्तुतीकालागि अर्गानिक जुम्बालाई निम्तो दिए ।

अर्गानिक जुम्बाका अध्यक्ष हिरु पुनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रशिक्षक मन्जु भट्टराईले स्वागत मन्तव्य राख्दै अर्गानिक जुम्बाको महत्त्व र योगदानबारे प्रकाश पार्नु भयो । उहाँले जुम्बा सबै उमेर समूहका लागि उपयुक्त रहेको र विशेषगरी ४० देखि ७० वर्षका महिलाहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताउनु भयो । शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि जुम्बा अत्यन्त लाभदायक रहेको र यसले विभिन्न पर्यटकीय प्रवर्द्धनात्मक कार्यक्रमहरूमासमेत सहभागिता जनाइरहेको जानकारी दिनु भयो । उहाँले अर्गानिक जुम्बाले पुस्तान्तरणको दूरी घटाउने, पारिवारिक सम्बन्ध प्रगाढ बनाउने, र समाजमा मित्रता तथा एकता सुदृढ गर्न सकारात्मक भूमिका खेलेको बताउनु भयो । “सासु–बुहारी, नन्द–भाउजु, आमा–छोरी, हजुरआमा–नाति सबै एकै थलोमा नाच्नु जुम्बाको अनुपम विशेषता हो,” उहाँले भन्नु भयो ।

कार्यक्रममा जुम्बा प्रशिक्षार्थी सिता केसीले अनुभब मन्तव्य, सरस्वती कार्की, मसिना बराल, शान्ति सारु लगायतले कबिता र राधिका शर्मा/सुनिता पहारीले उद्घोषण गरेका थिए ।

वार्षिकोत्सव समारोहमा सहभागीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नृत्य, कविता वाचन, फेसन सो, र जुम्बा नृत्य प्रदर्शन गरिएको थियो। अर्गानिक जुम्बाले स्वास्थ्य सचेतना, सामाजिक एकता र महिला सशक्तिकरणको क्षेत्रमा दिएको योगदानको सराहना गर्दै सहभागीहरूले यस संस्थाको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गरेका थिए।सानो समूहबाट सुरु भएको अर्गानिक जुम्बा आज पोखरामा स्वास्थ्यप्रेमीहरूको ठूलो आकर्षणको केन्द्र बनेको छ। सुरुमा १०/१२ जना सदस्यबाट सुरु भएको समूह अहिले यति व्यापक भएको छ कि हालको होटल उत्हसब हिमालयको ठूलो हल पनि सानो हुन थालेको सहभागीहरूले बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।