पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड


     एभरेस्ट आवाज    
     असार ८ गते २०८२ मा प्रकाशित




पोखरा, असार ८

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात ५५.४३ प्रतिशत मात्रै खर्च भएको महानगरले जनाएको छ ।

चालु खर्च र पुँजीगत खर्च कति÷कति हुने हो भन्नेबारेमा बजेटमा उल्लेख छैन । विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकारको अनुदानबाट ३ अर्ब १ करोड ८१ लाख अर्थात ३६.१३ प्रतिशत तथा आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख अर्थात ६३.८७ प्रतिशत व्यहोरिने उप प्रमुख गुरुङले बताईन् । बजेटमा आन्तरिक राजश्व परिचालनतर्फ कर क्षेत्रको अंश ३ अर्ब २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको उल्लेख छ ।

महानगरले सँधै झैं यस वर्षपनि पूर्वाधार निर्माणमा सबैभन्दा धेरै बजेट बिनियोजन गरेको छ। आईतबार प्रस्तुत बजेटमा २ अर्ब ३३ करोड भन्दा बढी बजेट पूर्वाधारका लागि विनियोजन गरिएको छ । यो कुल बजेटको ४४.६४ प्रतिशत हुन आउँछ । त्यस्तै, महानगरले वडा कार्यालयमार्फत खर्च गर्न १ अर्ब अर्थात १९.१६ प्रतिशत बजेट विनियोजन गरेको छ भने नगर कार्यपालिकाको कार्यालयमार्फत् ९५ करोड अर्थात १८.१९ प्रतिशत, सामाजिक विकासमा ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट विनियोजन गरेको उप प्रमुख गुरूङले बताइन् । उनले आगाी आर्थिक वर्षका लागि आर्थिक विकासमा १८ करोड अर्थात ३.४५ प्रतिशत, र शहरी विकास, पर्यटन, वन तथा वातावरणमार्फत् ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट विनियोजन गरेको उल्लेख गरिन् ।

पर्यटनको राजधानी पोखराको पूर्वाधार निर्माणमा केन्द्रीत गर्नेगरी बजेट ल्याएको उप प्रमुख गुरुङले बताईन् । जसका लागि सडक निर्माणदेखि पर्यटकीय पूर्वाधार विकास गर्ने बजेटमा उल्लेख छ । त्यस्तै, पर्यटन प्रवद्र्दनलाई जोड दिइएको छ । पोखरा भ्रमण चलिरहँदा त्यसलाई टेवा पुग्नेगरी बजेट विनियोजन गरिएको छ ।

बजेटमा उत्पादनमूलक व्यवसायिक कृषि प्रणालीको विकास, हरित उत्थानशील र दिगो पूर्वाधार विकास, व्यवस्थित शहरीकरणको विकास, समानुपातिक विकास प्रक्रिया अवलम्बन, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामुलक समाज निर्माण तथा आधारभूत शिक्षा र स्वास्थ्यको प्रत्याभुत गर्न बजेट केन्द्रीत रहेको उप प्रमुख गुरुङले बताईन् । उनले स्वरोजगार सिर्जना, उद्यमशीलता विकास तथा व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धन, जवाफदेहिता र प्रतिस्पर्धी मानव स्रोत विकासलाई प्राथमिकता दिइएको बजेटमा उल्लेख छ ।

यसअघि महानगरको १७ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले आइतबार नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख आचार्यले पर्यटनको राजधानी पोखराको पूर्वाधार निर्माण गर्नेदेखि पोखरा भ्रमण वर्षलाई सफल बनाउन पर्यटन प्रवद्र्दन गर्ने नीति महानगरले लिएको बताए । उनले पर्यटनबाहेक कृषि, शिक्षा, स्वास्थ्य लगायत महानगरको प्राथमिकतामा रहेको उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।