पोखरा, साउन १४ ।
पोखरा महानगरपालिका वडा नं. ९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयले नि:शुल्क आँखाशिविर आयोजना गरेको छ।
हिमालयन आँखा अस्पतालडको सहयोगमा आयोजित शिविरको उद्घाटन अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त शिविरमा अस्पतालको प्राविधिक टोलीले कुल १९७ जनाको आँखा परीक्षण गरेको जानकारी दिइएको छ।
प्रमुख अतिथि सुरेन्द्र थापा मगरले विपन्न बस्तीमा रहेका बालबालिकाका लागि निःशुल्क सेवा प्रदान गर्ने अवसर पाएकोमा विद्यालयप्रति आभार प्रकट गरे। उनले भविष्यमा विद्यालयबाट सिफारिस लिएर अस्पतालमा आउने बालबालिकालाई छुट तथा सहुलियत दिने प्रतिबद्धता समेत जनाए। साथै, भारतको राजधानी दिल्लीका विपन्न बस्तीहरूबाट डाक्टर र इन्जिनियर उत्पादन भएको उदाहरण दिँदै, विपन्न क्षेत्रबाट पनि सक्षम नागरिक निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य दिँदै हिमालयन आँखा अस्पतालप्रति आभार प्रकट गर्दै विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी दिइन्।
विद्यालयका निवर्तमान संयोजक वडा नं. ९ का जनप्रतिनिधि नन्दराम गिरीले शिक्षा नै सामाजिक रुपान्तरणको पहिलो आधार भएकोले सबै बालबालिकाले गुणस्तरीय र बालमैत्री शिक्षा पाउनुपर्नेमा जोड दिए। साथै, उनले आँखाको स्वास्थ्यले सिकाइलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता शिविरले सकारात्मक भूमिका खेल्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले विपन्न तथा अव्यवस्थित बस्तीका बालबालिकालाई स्वास्थ्य उपचारमा पहुँच नहुँदा चुनौती हुने बताउँदै, हिमालयन आँखा अस्पतालले नि:शुल्क चश्मा समेत उपलब्ध गराएर सहुलियत पु¥याएकोमा धन्यवाद ज्ञापन गरे। उनले डा. मनेनप्रसाद गोर्खालीको समन्वयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाइएको उल्लेख गर्दै सबै सहयोगी, शिक्षक, अभिभावक तथा संघ–संस्थालाई आभार प्रकट गरे।
कार्यक्रम शिक्षक सुदीप कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, विद्यालयका सल्लाहकार, सहारा क्लबका वर्तमान तथा पूर्व पदाधिकारी, छिमेकी टोल विकास संस्था, आमा समूह, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका…






