सन्देश श्रेष्ठ
पोखरा, भदौ २२
स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपालमा स्वास्थ्य वीमाको प्रयोग उल्टो रुपमा भइरहेको टिप्पणी गरेका छन् । स्वास्थ्य वीमा वोर्डले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले स्वास्थ्य वीमाको सदूपयोग भन्दा बढी दुरुपयोग भइरहेको बताएका हुन् ।
स्वास्थ्य वीमा वोर्डले स्वास्थ्य वीमा कार्यक्रम असल उद्देश्यले ल्याएको तर प्रयोग कर्ताले आफ्नो वैंक खाताजस्तो गरेर चलाउँदा समस्या देखिएको उनको भनाई छ । हामीले स्वास्थ्य वीमा एक सय जनाले गर्दा ३÷४ जनाले प्रयोग गर्लान् भन्ने सोंचेका थियौं,उनले भने,‘तर यहाँ त एक सय जनाले वीमा गरेकोमा एक सय जनाले नै प्रयोग गरे ।’ त्यति मात्र होईन वीमकले स्वास्थ्य वीमाको प्रयोग बैंक खाताजस्तो गरी चलाएको उनले बताए । वीमकले आफू विरामी भएको बेला वीमाको सुविधा प्रयोग गरेर स्वास्थ्य उपचार गर्नुपर्ने हो,उनले अगाडि थपे,‘तर हामीकहाँ त एकलाख रुपैयाँ नसकिएसम्म आफ्नो बैंकको खातामा पैसा राखेजस्तो गरेर विरामी नै नभई आफूखुशी जाँच गराउने समस्या देखियो ।’ यस्तो प्रवृत्ति सुधारका लागि सबै लाग्नुपर्ने उनले बताए ।
कार्यकारी निर्देशक काफ्लेले स्वास्थ्य वीमा कार्यक्रमलाई आगामी दुई वर्ष भित्र स्थापित गरेरै छाड्ने उद्घोष गरे । स्वास्थ्य वीमाको प्रयोगकर्ता बढाएर दोब्बर पु¥याउने र सेवा सुधार्न आफूहरु लागिरहेको उनको भनाई छ । स्वास्थ्य वीमामा आबद्द हुने संख्या निरन्तर बढिरहेको बताउँदै उनले भने,‘हामीपनि सर्भर ईफिसेन्सी बढाउने, सेवाको गुणस्तर बढाउनका लागि लागिपरेका छौं ।’ उनले स्वास्थ्य वीमाप्रति केहि नागरिकले विना कारण नकारात्मक धारणा बनाईरहेको दाबी गरे । सरकारप्रतिको आक्रोस पनि स्वास्थ्य वीमामा पोखिने गरेको बताउँदै उनले थपे,‘सरकारप्रतिको आक्रोस, सरकारलाई हेर्ने नकारात्मक दृष्टिकोण वीमामा आएर पोखिएको देखिन्छ । जसले गर्दा राम्रो गरिरहेको वीमाको पनि आलोचना भइरहेको छ ।’
कार्यकारी निर्देशक काफ्लेले स्वास्थ्य वीमामा हालसम्म २२ लाख घरधुरीका ६५ लाख नेपाली जोडिएको जानकारी दिए । जसमध्ये आधा वीमकले सेवा लिइरहेको उनको भनाई छ । हाल ५० हजार वीमकले दैनिक सेवा लिने गरेकोसमेत उनले जानकारी दिए । हाल देशभरका ५०२ वटा अस्पताल स्वास्थ्य वीमामा सुचिकृत भई सेवा दिइरहेको र त्यसमध्ये ४५४ वटा सरकारी र ४८ वटा नीजि अस्पताल रहेको उनले बताए ।
काफ्लेले विगतमा स्वास्थ्य वीमा गरेको वा स्वास्थ्य वीमा नवीकरण गरेको ३ महिनापछि मात्रै स्वास्थ्य वीमा लागु हुने गरेकोमा अहिले त्यसलाई सुधारेर एक महिना पछि नै लागु हुने व्यवस्था मिलाएको बताए । असोजसम्म नवीकरण गर्नेलाई थप शुल्क नलिईने पनि उनले स्पष्ट पारे ।
काफ्लेले प्रचारप्रसारको अभावमा स्वास्थ्य वीमामा आबद्द हुन कम आउने गरेको गुनासो गरे । स्वास्थ्य वीमाले घरखेत बेचेर उपचार गर्नुपर्ने विपन्न तथा गरीब नेपालीको बाध्यता हटाएको बताउँदै उनले भने,‘तर प्रचारप्रसार नहुँदा सबै स्वास्थ्य वीमा कार्यक्रममा आउन सकेका छैनन् । आधा नेपाली वीमामा आउन अझै बाँकी छ ।’ स्वास्थ्य वीमा कार्यक्रम लागु भएका अस्पतालले भुक्तानीको समस्या देखाएर उपचार नगरेको वा औषधी नदिएको भए त्यस्तालाई कारवाहीको दायरामा ल्याउन सबैले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






