पोखरा । कास्कीको ऐतिहासिक धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८२ आयोजना हुने भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९:०० बजेदेखि सुरु हुने महायज्ञ कार्यक्रम महानवमीको दिन मध्यान्ह १२:०० बजेसम्म निरन्तर सञ्चालन हुनेछ।
समितिले यस वर्षको महोत्सवलाई सम्पन्न गर्न पूर्वतयारीका क्रममा भाद्र २३ र २४ गतेका घटनाले बाधा पुर्याएको हुँदा परम्परागत रुपमा हुँदै आएको विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा स्थगित गरिएको जनाएको छ। तथापि श्रीमद्देवी भागवत ज्ञान महायज्ञलाई भने निरन्तरता दिइने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।
महोत्सवका प्रमुख कार्यक्रम :
महायज्ञका दैनिक कार्यक्रम अन्तर्गत श्री सतचण्डी महानुष्ठान विहान ६:०० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुनेछ भने भजन–कीर्तन अपरान्ह २:०० बजेदेखि ४:०० बजेसम्म हुनेछ। विजया दशमी अवधिभर मन्दिरमा नित्य पूजा विहान ४:०० बजेदेखि सुरु हुनेछ, भक्तजनका लागि दर्शनका लागि मन्दिर पूर्वान्ह ५:०० बजेदेखि खुला गरिनेछ र प्रत्येक साँझ ६:०० बजे आरती हुनेछ। यस महायज्ञका वाचकका रुपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने समितिका सचिब तिर्थ श्रेष्ठले जानकारी दिए ।
ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि :
विन्ध्यवासिनी मन्दिरलाई शक्ति स्थलका रुपमा अज्ञात कालखण्डदेखि नै पूजा हुँदै आएको मानिन्छ। झण्डै अढाई शताब्दी पुरानो यो मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ। यस मन्दिरको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको स्थापना गरिएको हो। समितिको गठनपश्चात मन्दिर परिसरमा विभिन्न भौतिक पूर्वाधार निर्माण, सौन्दर्यकरण, धार्मिक र सामाजिक चेतना जगाउने गतिविधि सञ्चालन हुँदै आएका छन्। भक्तजनले दर्शनका क्रममा चढाएको भेटी र दानलाई समितिले निरन्तर जनहितका कार्यमा प्रयोग गर्दै आएको छ।
समितिको पहलमा विगतका वर्षमा विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, बहुद्देश्यीय सभा भवन, प्रदक्षिणा पथ, ढुङ्गा छपाई, पित्तलले सजाइएको मन्दिरको ढोका, किर्तिस्तम्भ, शौचालय, बोरिङ तथा खानेपानी टंकी, शुद्ध पिउने पानीको व्यवस्था, विशाल त्रिशुल, शक्ति ध्वजा, कमण्डलु, विन्ध्यवासिनी वाटिका, फोहोरा र शिवानन्द कुण्ड जस्ता सुविधा निर्माण गरिएको छ।
समितिले विगतमा विभिन्न पर्व र उत्सवको अवसरमा विशेष पूजन तथा धार्मिक कार्यक्रम गर्दै आएको छ। श्रावण महिनाभर शिव पूजनोत्सव, गणेश चतुर्थीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजन, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जन्मोत्सव, राम नवमी, हनुमान जयन्ती र शिवरात्रीमा विशेष धार्मिक कार्यक्रम हुँदै आएका छन्।यी पर्व विशेषका गतिविधिहरुमध्ये २०६४ सालदेखि विजया दशमीको अवसरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव आयोजना हुँदै आएको छ। यस महोत्सवका दुई प्रमुख पक्ष रहेका छन्, पहिलो नवदुर्गा शोभायात्रा र दोस्रो श्रीमद्देवी भागवत ज्ञान महायज्ञ। यस वर्ष शोभायात्रा स्थगित भए पनि ज्ञान महायज्ञलाई निरन्तरता दिइनेछ।
शिक्षा क्षेत्रमा २०५१ सालमा स्थापना गरिएको विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा हाल कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क आवासीय शिक्षा दिइँदै आएको छ। यसलाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुसार पोखरा महानगरपालिका वडा नं १८ स्थित विन्ध्यवासिनी गुठी स्वामित्वमा रहेको २६ रोपनी जग्गामा नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अशक्त व्यक्तिहरूको सुविधाका लागि मन्दिरमा लिफ्ट जडान गरिएको छ र उक्त सेवा उनीहरूका लागि निशुल्क उपलब्ध गराइएको छ। साथै २०७२ सालदेखि ज्येष्ठ नागरिक मिलन केन्द्रमार्फत दिवा सेवा सञ्चालन गरिएको छ भने भक्तजन र समुदायलाई लक्षित गरी एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ। वैदिक सनातन संस्कृतिको एक अङ्गका रुपमा रहेको प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समितिले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय पनि सञ्चालनमा ल्याएको छ जसको भौतिक पूर्वाधार निर्माण अहिले जारी छ।
समितिको अपिल :
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यस वर्षको नवदुर्गा महोत्सवलाई सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजन, धार्मिक निकाय, स्थानीय समुदाय र सरोकारवाला सबैलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ। यस महोत्सवले धर्म, संस्कृति र परम्पराको संरक्षण, सांस्कृतिक सद्भावको अभिवृद्धि र धार्मिक पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउने समितिका अध्यक्ष श्रेष्ठको बिश्वास छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






