अफिन गण्डकीले भन्यो : नर्सहरुलाई सरकारी सरह तलब दिन सक्दैनौं


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज २९

एशोसियसन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्यूसन नेपाल (अफिन) गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताएको छ । सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको भोलिपल्ट पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर अफिन गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने जनाएको हो ।

पोखरामा अहिले मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका नर्सहरु तलब, भत्ता बढाउन माग गर्दै आन्दोलनमा रहेका छन् । विगत एक हप्तादेखि आन्दोलनमा रहेका उनीहरुले सरकारी सरह तलब दिन माग गर्दै आएका छन् । अस्पताल प्रशासनले भने नर्सहरुको माग अनुसार तलब दिन नसक्ने अडान राखेका छन् ।

नर्सहरुको आन्दोलन र अस्पताल प्रशासनको अडानका बीच सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको छ । तर अस्पतालले सरकारको सो निर्देशन अनुसार तलब दिन नसक्ने अडान कायम राखेको छ ।

यसैबीच, अफिन गण्डकीले श्रम ऐन अन्तर्गत रहेर नर्सहरुलाई तलब, भत्ता उपलब्ध गराउँदै आईरहेको जनाएको छ । अफिन गण्डकीले सरकारी सरह तलब, भत्ता दिने भन्ने नेपालको कुनै पनि कानूनी प्रावधान नरहेकाले सो लागु गर्न दवाब नदिन पनि सरकार र आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलले नर्सहरुलाई सरकारी सरह तलब, भत्ता दिन नसक्ने बताए । सरकारी सरह तलबभत्ता दिनुपर्छ भन्ने कानूनी प्रावधान पनि छैन,उनले भने,‘हामीले श्रम ऐन अन्तर्गत रहेर तलब, भत्ता दिदै आएका छौं, यदि यो लागू नभए सो अनुसार गर्न, गराउन आग्रह गर्दछौं । तर कानूनी प्रावधान नै नहुँदानहुँदै सरकारी सरहको तलब, भत्ता देउ भनेर बाध्य पार्न पाईंदैन ।’

अफिन गण्डकीले पोखराका अस्पतालहरुमा भइरहेका आन्दोलनलाई सहमति र सहकार्यमा सहजीकरण गरी समाधान खोज्न अपिल गरेको छ । साथै उसले नर्सहरुलाई सहमतिबाट समाधान खोजी काममा फर्किन र त्यसका लागि अस्पताल व्यवस्थापन पक्षलाई पनि सहजीकरण गर्न आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मणिपाल शिक्षण अस्पतालका हस्पिटल निर्देशक प्रो.डा. अभिषेक मास्केले आन्दोलनरत नर्सहरुसँग सहमति भएको तर पछि कार्यान्वयनबाट नर्सहरु पछि हटेको दाबी गरे । आन्दोलनरत नर्सहरुसँग मंगलबार वार्ता भएको थियो,उनले भने,‘वार्तामा अहिलेको तलब बढाएर न्यूनतम २४ हजारदेखि २९ हजारसम्म पु¥याउने र आज दिउँसो २ बजेदेखि काममा फर्किने सहमति भएको पनि भयो, तर पछि उहाँहरुको टिममा कुरा मिलेन होला सायद ! त्यहि भएर आज काममा फर्किनु भएन ।’ उनले पनि नर्सहरुको माग र सरकारको निर्देशन अनुसार नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताए । ‘त्यो दिन पनि सकिदैन,‘देउ भनेर निर्देशन दिदैमा दिने अवस्था पनि छैन’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।