अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका छन् ।

बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै उनले कर भटाउने घोषणा गरेका हुन् । उनका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ । राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।” यस कदमपछि चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको उनको भनाइ छ ।

उनले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताए । साथै, एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिए । तर, दुई मुलुकबीचको दीर्घकालीन प्रतिस्पर्धा भने कायम नै छ । विश्वका ठूला दुई अर्थतन्त्रले उत्पादन, कृत्रिम बुद्धिमत्ता ९एआई० जस्ता प्रविधि विकास र युक्रेनमा युद्धजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा करिब १०० मिनेट लामो वार्तापछि दुवै नेताले तनाव घटाउने र सहकार्य गर्ने प्रतिज्ञा व्यक्त गरे । बैठक अघि अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएको थियो । तर, चिनियाँ पक्षले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण शिथिल गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने सङ्केत देखाएपछि वातावरण केही सहज बनेको थियो ।

उक्त वार्तालाई ‘जी–२ बैठक’ का रूपमा व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई अमेरिका र चीनको विश्व अर्थतन्त्रमा अग्रणी भूमिकाको प्रतीक भने । यो बैठक बुसानस्थित सैन्य परिसरमा सामान्य वातावरणमा सम्पन्न भएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।