नर्सहरुको जारी आन्दोलनले सेवा प्रभावित,स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेश


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित




नर्सको आन्दोलनका कारण देशभरको स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको छ।

निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने १५ बुँदे मागसहित नर्सहरूले आन्दोलन जारी राखेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएका हो। सरकारी सरह पारिश्रमिक पाउनु पर्छ भनेर असोज १० गते देखि सुरु भएको आन्दोलनमा देशभरका नर्सहरुले समर्थन जनाएका छन्। देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर प्रदर्शन गरेका छन्। पोखराको सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित काठमाण्डौंका वीर, टिचिङ जस्ता ठूला सरकारी अस्पतालमा कार्यरत नर्सहरुले समर्थन जनाउदै आन्दोलनमा सहभागी भएका छन्।

निजी मेडिकल कलेज सञ्चालकहरुले सरकारी सरह पारिश्रमिक दिन नसक्ने जनाएपछि आन्दोलन देश व्यापी चर्किदै गएको छ।यसैबिच नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।

सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले शुक्रबार मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो । प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जबाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लागि सुझाव दिएको हो ।

भेटपछि एक विज्ञप्ति जारी गरी सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै सङ्घले मानव स्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।