आज विश्व एड्स दिवस: नेपालमा ३४ हजारभन्दा बढी एचआईभी संक्रमित


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८२ मा प्रकाशित




आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान जाने गरेको छ । दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरिन्।

उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्। लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार ९भाइरल लोड० न्यून हुनुपर्ने हो।

शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको बताइन्। नेपालले प्राप्त गरेका यी उपलब्धिहरूलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्ति गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको उल्लेख गरिन्।

उनले यस वर्ष विशेषगरी जेनजी आन्दोलनको दिएको ऊर्जा र सन्देशले एचआइभी एड्स प्रतिकार्यमा अत्यन्त महत्वपूर्ण भूमिका रहने बताइन्।सरकारी तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् ।१५ वर्षभन्दा माथिका एचआइभी सङ्क्रमित पुरुषको सङ्ख्या १९ हजार २ सय ७९ र १४ हजार जना महिला छन् । एक हजार ५८ जना एचआइभी संक्रमित बालबालिका छन् ।

असुरक्षित यौनसम्पर्क, एचआइभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्ने भएकाले सचेतना अपनाउन डाक्टरको सुझाव छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।