नयाँ शक्तिहरु बिच एकता नभएपनि सहकार्य हुन्छ: कुलमान घिसिङ


     एभरेस्ट आवाज    
     पौष १३ गते २०८२ मा प्रकाशित




उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु बिच एकता सम्भव नभए कार्यगत एकता हुनुपर्नेमा जोड दिएका छन् ।

आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री समेत रहेका घिसिङले नेपाली जनताको चाहना एक हुनुपर्ने भए पनि, त्यसो हुन नसकेमा कार्यगत एकता चाहीं हुनैपर्ने धारणा राखे ।उनले सबै नयाँ र मूलधारका शक्तिहरुलाई एक भएर जान आह्वान समेत गरे । एकताका नाममा सम्मान र स्वाभिमानलाई मेटाउने कार्य भने स्वीकार्य नभएको उनको भनाई थियो । ‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ ।

सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुराहरु भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट पनि आउने म विश्वास व्यक्त गर्न चाहान्छु ।’घिसिङले वैकल्पिक शक्तिहरूबिचको सहकार्यले मात्रै मुलुकलाई नयाँ दिशा दिन सक्ने दाबी गरे।

कार्यकर्ता भेलाका लागि पोखरा आएका मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिन सडकखण्डअन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण समेत गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन पनि निर्देशन दिए । निर्माणाधीन पुलको भौतिक प्रगति हालसम्म ५४ प्रतिशत मात्रै भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।