बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८२ मा प्रकाशित




बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी ९बिएनपी० की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । उक्त निर्वाचन गत वर्ष दीर्घकालीन प्रतिद्वन्द्वी शेख हसिनाको सरकार जनविद्रोहपछि पतन भएपछिको पहिलो आम चुनाव हो । बिएनपीलाई यस निर्वाचनमा प्रमुख अग्रपङ्क्तिको दलका रूपमा हेरिएको थियो र धेरैले जियाको नेतृत्वमै पार्टी चुनाव जित्ने विश्वास गरेका थिए ।

बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उनको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि दीर्घकालीन स्वास्थ्य समस्याका कारण उनको अवस्था क्रमशः गम्भीर बन्दै गएको थियो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि सोमबार पार्टी कार्यकर्ताहरूले तीनवटा निर्वाचन क्षेत्रबाट उनकै नाममा उम्मेदवारी दर्ता गराएका थिए, जसले उनको राजनीतिक इच्छाशक्ति अन्तिम क्षणसम्म पनि बलियो रहेको देखाएको थियो ।

उनको निधनप्रति बिएनपीका वरिष्ठ नेता रुहुल कबिर रिजवीले यस घटनालाई ‘राष्ट्रका लागि अपूरणीय क्षति’ भन्दै गहिरो दुःख व्यक्त गरे । तीन पटक प्रधानमन्त्री रहनुभएकी जियालाई सन् २०१८ मा तत्कालीन शेख हसिना सरकारका पालामा भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको थियो । सोही कारणले उपचारका लागि विदेश जानसमेत उनलाई रोक लगाइएको थियो ।

हसिना सत्ताच्युत भएपछि गत वर्ष उहाँ रिहा हुनुभयो । यस महिनाको सुरुतिर विशेष एयर एम्बुलेन्समार्फत लन्डन लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नहुँदा योजना कार्यान्वयन हुन सकेन । उनका जेठा छोरा तारिक रहमान अब फेब्रुअरी १२ मा हुने आम चुनावमा बिएनपीको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।