म्याग्दीको धवलागिरी अस्पताल भवनमा, तीन पटक म्याद थप गर्दा पनि आधा काम मात्रै


     एभरेस्ट आवाज    
     पौष १७ गते २०८२ मा प्रकाशित




तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा म्याग्दीस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताए । भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उनले गुनासो गरे । भवन निर्माणका लागि विसं २०७८ वैशाखमा निर्माण कम्पनीले रु। चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । पाँच शैया क्षमताको अस्पतालका लागि १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाको तेस्रो पटक थप भएको म्याद आगामी असार महिनासम्म छ । मुख्य भवनको ढलान सकिएपनि फिनिसिङको काम सुरु भएको छैन् ।

धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले ताकम आधारभूत अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन ताकेता गरिएको बताए । ।“आर्थिक वर्षको अन्तिम तिर आउने ठेकेदार अन्य समयमा सम्पर्कबिहीन हुन्छन्,” उनले भने “बैंक धरौटी जफत र कालोसूचिमा राख्ने प्रक्रिया अघि बढाउने विषयमा कार्यपालिकामा छलफल चलाएका छौ ।” निर्माण कम्पनीका प्रतिनिधी दीपक अदैले बर्खायाममा ढुवानी र प्रतिकुल मौसमका कारण रोकिएको अस्पताल भवन निर्माण कार्यलाई केही दिनमै सूचारु गराउन मजदुर, निर्माण सामग्री ल्याएर आउने प्रतिवद्धता जनाए ।

भवन निर्माणको सुरुवातमा स्थानीय समस्याले गर्दा ढिलाई भएपनि संघीय सरकारले पठाउने बजेट अनुसारको काम गर्दै आएको उनको भनाई छ । सरकारले भुक्तानीको लागि बजेट उपलब्ध गराउन सके चालु आवमै भवन सम्पन्न गर्ने अदैले बताए । विस। २०७७ पुष २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले भवन शिलन्यास गरेका थिए ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।