पोखरामा पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित




नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि आजदेखि पोखरामा तीनदिने चरा पहिचान तालिम सुरु गरिएको छ ।

पदयात्रामा जाने पर्यटकलाई चराहरूका बारेमा जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ विशेषतः गण्डकी प्रदेशका पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जनालाई तालिम दिन लागिएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत चरा हेर्न आउने गरेका उल्लेख गर्दै उनले पदयात्रा पथप्रदर्शकले चराकाबारेमा जान्न जरुरी रहेको धारणा राखे । पोखरा पन्छी समाजले चार पटकसम्म यस किसिमको तालिम सम्पन्न गरेको जनाउँदै यस अवधिमा १५ जना पथप्रदर्शक चरा अवलोकन गराउनका लागि पूर्ण रूपमा दक्ष बनिसकेका उनले बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले चरा अवलोकन पनि पर्यटनको महत्त्वपूर्ण पक्ष भएको बताउँदै तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे । समाजका उपाध्यक्ष शेषकान्त शर्माले नेपालको पर्यटन पदमार्गमा आधारित भएको बताउँदै यसमा चरा पर्यटन पनि महत्वपूर्ण पाटो रहेको धारणा राखे । चरा पर्यटनका माध्यमबाट नेपालमा आउने विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सकिनेमा उनले जोड दिए ।

तीनदिने तालिमका क्रममा नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख रविन कडरिया, काठमाडौँ इन्भाइरोन्मेन्टल एजुकेसन प्रोजेक्ट९किप०का कार्यकारी सदस्य गोपी श्रेष्ठका साथै पन्छीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र प्रयोगात्मक तालिम प्रदान गर्ने आयोजकले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।