आज बडादशैंको मुख्य दिन : टिकाको शुभ साइत पूर्वाह्न १० : २६ बजे


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०८३ मा प्रकाशित




पोखरा — नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।
विजयादशमीका दिन बिहानैदेखि घरघरमा पूजा आराधना गरी दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ। परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनले आफूभन्दा सानालाई निधारमा रातो टीका र शिरमा जमरा लगाइदिँदै सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरी आशीर्वाद दिने चलन छ।
दशैंको टीका र जमरालाई असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुर नामक असुरको वध गरेको र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको स्मरणमा विजयादशमी मनाउने गरिन्छ।
दशैंको पहिलो दिन घटस्थापनामा घरघरमा जमरा राखेर सुरु भएको नवरात्रि नवदुर्गाको पूजा आराधनासँगै विजयादशमीका दिन विशेष उल्लासका साथ सम्पन्न हुने गर्छ। घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पूजा गरेका भक्तजनले दशौँ दिन देवीको प्रसाद ग्रहण गर्दै विजयादशमी मनाउँछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।