पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस शुरु भएको छ ।
तीन दिनसम्म संचालन हुने दिवसको बिहीवार शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरे । त्यस अवसरमा प्रमुख अतिथि आचार्यले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्य मान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताए । अनुशासित भएर खेलमा सहभागी भएमा खेलकुदले विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त सिकाइ प्रक्रियामा पनि सहयोग पु¥याउने बताउँदै आचार्यले विद्यार्थीको भविष्य निर्माणमा समेत खेलकुदको भूमिका रहेको बताए । विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले चार वटा सदनका कप्तानहरूलाई शपथग्रहण गराएका थिए । समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङजम्प, सर्टपुटलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका थिए । विद्यार्थीहरूको शारीरिक कवाज प्रदर्शनी पनि समारोहको अर्काे आकर्षण थियो । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै नेपालको राष्ट्रिय झन्डाको दृश्य निर्माण हुने गरी सांस्कृतिक कवाज पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा थारू संस्कृतिमा प्रचलित झुमरा नृत्य, मगर संस्कतिमा प्रचलित झोरा नृत्य तथा किरात संस्कृतिमा प्रचलित साकेला नृत्यका अतिरिक्त अन्य विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी मेडिकल कलेजमा कार्यरत भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए । एसओएस स्कुल गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक प्रभास पौडेलले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका प्राचार्य चूडामणि सुवेदीले खेलमा जिताइसँगै सिकाइलाई पनि समान महत्त्व दिई अनुशासित र मर्यादित भएर उल्लासपूर्ण ढङ्गले विभिन्न खेलमा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरे । समारोहमा एसओएस बालग्राम गण्डकीकी उपनिर्देशक भवानी बस्नेत, कालिका मावि रामबजारका प्रधानाध्यापक श्रीराम आचार्य, न्यू मोडल माध्यमिक विद्यालयका निर्देशक लक्ष्मण पोखरेल, एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेल, ताराकुञ्ज एकेडेमीका प्रधानाध्यापक पुष्पराज पौडेल, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, एसओएस बालग्रामकी आमा प्रतिनिधि रेखादेवी राना, एसओएस गण्डकी भूतपूर्व विद्यार्थी मञ्चकी उपाध्यक्ष सम्झना पराजुली, विद्यालयका लेखापरीक्षकद्वय प्रदीप आचार्य र सुमन न्यौपाने, चिकित्सक धीरज अधिकारीलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितात्मक खेलअन्तर्गत पहिलो दिन सम्पन्न चार सय मिटर रिले दौडमा अन्नपूर्ण सदनका सञ्जु चेपाङ, मार्था तामाङ, जेनिसा भण्डारी र देवी माझीले प्रथम तथा धौलागिरि सदनका सलिना परियार, दिविसा सापकोटा, आसिका सापकोटा र रोजमेरी खड्गीले द्वितीय स्थान हासिल गरे । प्रारम्भिक चरणका विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लोकनाथ आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे ।
तीन दिनसम्म सञ्चालन हुने खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहमा पाँच समूहका लागि छुट्टाछुट्टै खेलहरू सञ्चालन हुनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






