पोखरा,— पोखरा महानगरपालिका–२४, गुण्टचौर, कास्कीकोटमा अवस्थित ऐतिहासिक तथा शैक्षिक पहिचान बोकेको श्री सिद्ध बराह आधारभूत विद्यालय स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा हिरक जयन्ती महोत्सव–२०८२/८३ आयोजना गरिने भएको छ। महोत्सवसम्बन्धी विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
वि.सं. २०२३ सालमा स्थानीय समुदायको सामूहिक श्रम, लगनशीलता र शिक्षाप्रतिको गहिरो प्रतिबद्धताबाट स्थापना भएको यस विद्यालयले विगत छ दशकदेखि गुण्टचौर तथा आसपासका क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। ऐतिहासिक कास्कीकोट क्षेत्र तथा धार्मिक आस्थाको केन्द्र श्री गुप्तकालिका मन्दिरको छत्रछायाँमा अवस्थित विद्यालयले शिक्षा मात्र नभई समाज रूपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराज सुवेदीले जानकारी दिए।
६० वर्षको अवधिमा विद्यालयबाट अध्ययन पूरा गरेका हजारौं विद्यार्थीहरू आज शिक्षक, कर्मचारी, उद्यमी, समाजसेवी तथा जिम्मेवार नागरिकका रूपमा राष्ट्रका विभिन्न क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले विद्यालयको योगदानले सामाजिक प्रभाव स्पष्ट देखिने बताए।
हिरक जयन्ती महोत्सवको मूल लक्ष्य समावेशी, गुणस्तरीय, प्रविधिमैत्री तथा समुदाय केन्द्रित शिक्षा प्रदान गर्ने राष्ट्रिय नमुना आधारभूत विद्यालयका रूपमा विद्यालयलाई स्थापित गर्नु रहेको जनाइएको छ।
महोत्सवका प्रमुख उद्देश्यहरूमा विद्यालयको ऐतिहासिक यात्रा, योगदान र उपलब्धिहरूको दस्तावेजीकरण गरी स्मारिका प्रकाशन गर्ने, पूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच भावनात्मक सम्बन्ध सुदृढ गर्ने तथा विद्यालयको भौतिक संरचना सुधार र आर्थिक सुदृढीकरणका लागि अक्षयकोष स्थापना गर्ने रहेका छन्।
एक वर्षसम्म कार्यक्रम
हिरक जयन्ती महोत्सव वि.सं. २०८२ माघ १० गतेदेखि २०८३ माघ १० गतेसम्म एक वर्ष सञ्चालन हुने पूर्व विद्यार्थीकाे तर्फबाट लाेक नाथ सुवेदीले जानकारी दिए ।
महोत्सवको औपचारिक समुद्घाटन २०८२ माघ १० गते शनिबार बिहान ८ः१५ बजे प्रभातफेरीसहित विद्यालय प्राङ्गणमा गरिनेछ। प्रभातफेरीमा विद्यार्थी, अभिभावक, आमासमूह, क्लब, सांस्कृतिक समूह, पूर्व शिक्षक, पूर्व विद्यार्थी, शैक्षिक, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। स्थानीय बाजागाजा, झाँकी, विद्यार्थी प्रतिभा प्रदर्शन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम सुवेदीले जानकारी दिए ।
प्रारम्भिक चरणमा मूल समारोह समिति तथा विषयगत उपसमिति गठन, विद्यालयको इतिहास संकलन, प्रकाशन तथा अभिलेखीकरण, स्रोत व्यवस्थापन र बजेट संकलन गरिनेछ।
कार्यान्वयन चरणमा शैक्षिक गोष्ठी, शिक्षक तालिम, विज्ञान, कला, साहित्य तथा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, कक्षा कोठा, पुस्तकालय, शौचालय र खानेपानीजस्ता भौतिक पूर्वाधार सुधारका साथै पूर्व विद्यार्थी र पूर्व शिक्षक पुनर्मिलन कार्यक्रम सञ्चालन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिए ।
अन्तिम चरणमा शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी तथा दाताहरूलाई सम्मान, आर्थिक प्रतिवेदन सार्वजनिक, भावी कार्ययोजना निर्माण तथा हिरक जयन्ती स्मृति स्तम्भ निर्माण गरिनेछ।
महोत्सवका लागि ८५ लाख ५० हजार रुपैयाँ अनुमानित बजेट तय गरिएको छ। आम्दानीतर्फ स्थानीय तह, विद्यालय परिवार, अभिभावक तथा समुदाय, पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा दातृ निकाय र संघ–संस्थाबाट सहयोग संकलन गरिनेछ। खर्चतर्फ तयारी तथा प्रचार, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम, भौतिक विकास, स्मारिका प्रकाशन, हिरक जयन्ती स्तम्भ निर्माण तथा हिरक जयन्ती अक्षयकोष स्थापना गरिने पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक रिना शाहले जानकारी दिइन ।
कार्यक्रम सफल बनाउन स्थानीय सरकार, सञ्चार माध्यम, पूर्व विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी महानुभाव तथा सम्पूर्ण समुदायलाई सहयोग, सहभागिता र सहकार्यका लागि आयोजकले हार्दिक आह्वान गरेको छ।
पूर्व विद्यार्थीको तर्फबाट लोकनाथ सुवेदीले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रचारप्रसार समितिका संयोजक साजन सुवेदीले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






