गोरखा २ मा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८२ मा प्रकाशित




प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० का तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ । तनहुँ क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका मनराज गुरुङले उमेदवारी फिर्ता लिएका छन् । तनहुँ–२ मा १२ जनाले उमेदवारी दर्ता गराएका थिए । मनराजले फिर्ता लिएसँगै अब ११ जना चुनावी मैदानमा हुनेछन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।