राष्ट्रिय सभा सदस्यका लागि मतदान जारी, अपरान्ह ५ बजेभित्र नतिजा आईसक्ने


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८२ मा प्रकाशित




राष्ट्रिय सभामा १७ जना सदस्यका लागि सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान जारी छ ।

आउँदो फागुन २० देखि १९ पद रिक्त हुन लागेकोमा एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेको र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी १७ पदका लागि बिहान ९ बजेदेखि शुरु भएको मतदान ३ बजे सकिने छ । सातवटै प्रदेशका मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भई रहेको निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा , लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी कैलालीमा मतदान केन्द्र रहेको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मतदान गरिसकेका छन् । गण्डकीमा २ सय २८ जना मतदाता रहेका छन् । मतदान सकिएलगत्तै गणना थाल्ने आयोगको तयारी छ ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् ।

‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म हो, त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्छ’, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।