राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा २२३ मत खस्यो


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ ११

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको छ । गण्डकीमा कुल २२९ मत रहेकोमा ६ जना अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

गण्डकीमा ५९ जना प्रदेश सभा सदस्य र स्थानिय तहतर्फ १७० जना मतदाता रहेका थिए । जसमध्ये प्रदेश सभा सदस्यतर्फ २७ जना पुरुष र २० जना महिला गरेर ५७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । प्रदेश सभातर्फ दुई सदस्य अनुपस्थित रहे ।

त्यस्तै, स्थानिय तहतर्फ १०२ जना पुरुष र ६४ जना महिला गरेर कुल १६६ जनाले मतदान गरेको कार्यालयको अभिलेखमा उल्लेख छ ।

राष्ट्रिय सभामा गण्डकीमा दुई सदस्यका लागि निर्वाचन भएको हो । गण्डकीमा खुल्लातर्फ १ र महिला क्लष्टरमा १ गरी दुई सदस्यका लागि निर्वाचन भएको हो । जसका लागि यहाँ कांग्रेस–एमालेले गठबन्धन गरेका छन् । उनीहरुले खुल्लातर्फ कांग्रेसका डा.जगत तिमिल्सिना र महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटालाई उम्मेदवारका रुपमा खडा गरेका छन् । यहाँ नेकपाले कपिल लामा र गोमा घिमिरे लुईटेल (रुची)लाई तथा राष्ट्रिय जनमोर्चाले शंकर बराल र लक्ष्मी बास्कोटालाई उम्मेदवार बनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयले केहिबेरमै मत गणना शुरु गर्ने र अपराह्न ५ बजेसम्ममा मत परिणाम आईसक्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।