पोखरा । भारतको ७७औँ गणतन्त्र दिवस पोखरामा पनि मनाइएको छ। पोखरास्थित भारतीय दूतावासको पेन्सन वितरण कार्यालय (पिपिओ) परिसरमा आयोजित विशेष समारोहबीच दिवस मनाइएको हो।
गणतन्त्र दिवसको अवसरमा सय वर्ष नाघेका भारतीय भूतपूर्व गोर्खा सैनिकहरूलाई सम्मान गरिएको थियो। भारतले हरेक वर्ष जनवरी २६ मा संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ।
कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख ले.क. प्रशान्त सिंह बघेलले साझा संस्कृति, धार्मिक आस्था, खुला सीमाना र आपसी विश्वासले नेपाल–भारत मित्रतालाई बलियो बनाएको बताए। गोर्खाली सैनिकहरूको निष्ठा, बहादुरी र बलिदानले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाएको उनले उल्लेख गरे।
प्रमुख ले.क. बघेलका अनुसार भारत सरकारले नेपालमा रहेका भूतपूर्व सैनिकहरूको स्वास्थ्य सेवाका लागि ईसीएचएस पोलिक्लिनिक, शिक्षाका लागि नेपाल–भारत मैत्री विद्यालय तथा ब्युटिसियन, फेसन डिजाइनिङ र कम्प्युटरसम्बन्धी व्यावसायिक तालिम उपलब्ध गराउँदै आएको छ। पोखराभित्र पाँचवटा अस्पतालमा ईसीएचएस सेवा उपलब्ध रहेको र गण्डकी प्रदेशका सेवा नपुगेका क्षेत्रमा मोबाइल मेडिकल युनिटमार्फत सेवा प्रदान गरिने जानकारी उनले दिए। साथै, आफ्नो कार्यकाल समाप्त हुन लागेको उल्लेख गर्दै उनले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
‘वन्दे मात्रम्, आत्मनिर्भर भारत’ भन्ने मूल नारासहित आयोजित समारोहमा भारतीय दूतावासका अधिकारी, भूतपूर्व भारतीय सैनिक, भारत घर भई पोखरामा कार्यरत भारतीय समुदायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका नेपाली अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल–भारत मैत्री विद्यालयका विद्यार्थीहरूले नेपाली र भारतीय सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा…





