पुलिसलाई हराउँदै न्यू डायमण्ड टाइगर कप भलिबलको फाइनलमा प्रवेश


     एभरेस्ट आवाज    
     माघ १३ गते २०८२ मा प्रकाशित




नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो । डायमण्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो । अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ ।

यसअघि आजै भएको खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो । अब पुरुषतर्फको खेल पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सबिच सुरु हुनेछ । त्यसपछि गण्डकी र पुलिस भिड्नेछन् ।टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।