राष्ट्रियसभा बैठक: निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     माघ १३ गते २०८२ मा प्रकाशित




सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा सहभागीहरु । तस्बिरः रत्न श्रेष्ठ/ रासस

राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको विशेष समयमा उनीहरुले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखिन् । उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भएकाले राष्ट्रिय झन्डा दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने बताईन् । सोही पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले अघिल्लो सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसक्दा जेनजी आन्दोलन भएको यथार्थ प्रस्तुत गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिईन् । राजनीतिक अनिश्चितताका बीच निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न लागेको सरकारलाई धन्यवाद दिँदै उहाँले राष्ट्र र जनताको सर्वोत्तम हित गर्न सक्ने उम्मेदवारलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताईन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेक कुनै विकल्प नरहेको उल्लेख गर्दै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई संवैधानिक ‘ट्र्याक’मा ल्याउनुपर्नेमा जोड दिए । कांग्रेस सांसद नारायणदत्त मिश्रले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद मिश्रले जेनजी आन्दोलनले सकारात्मक र नकारात्मक पाटोप्रति सदैव सचेत हुनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद गोपाल भट्टराईले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी र प्रहरीबाट लुटिएका हतियार निर्वाचन सुरक्षामा चुनौती बन्न सक्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराए । मुलुकलाई असफल राष्ट्र बनाउने चलखेल भइरहेको जनाउँदै उहाँले यसप्रति संसद् चनाखो बन्नुपर्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।