कास्कीमा ५० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध


     एभरेस्ट आवाज    
     माघ १४ गते २०८२ मा प्रकाशित




संकटमा पर्दै गएको स्वास्थ्य बीमा कार्यक्रमले कास्कीमा ५० प्रतिशत जनसंख्यालाई सेवा दिएको छ ।

जिल्ला समन्वय समिति कास्कीले बुधबार पोखरामा गरेको अन्र्तक्रिया कार्यक्रममा गण्डकी प्रदेश सरकारका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश कुमार के सीले यहाँका ५० प्रतिशत जनसंख्याले स्वास्थ्य बीमाको सेवा प्राप्त गरेको जानकारी दिएका छन् ।उनले प्रथम सेवा बिन्दु र प्रेषित विरामीको उपचार गर्ने संस्था बिच उपयुक्त संयोजन र समन्वय कार्य गुणस्तरीय नभएको भन्ने गुनासोलाई अन्त्य गर्न महाशाखा त्यसतर्फ केन्द्रीत भएको उल्लेख गरे । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्वास्थ्य बीमा बोर्डको संरचनागत सुधार ,कमजोर व्यवस्थापनको सबलिकरण गर्न आवश्यक रहेको बताए ।

उनले सरकारी अस्पतालहरूको सुदृढीकरण, बीमा कार्यक्रममा औपचारिक क्षेत्रको सक्रिय सहभागीता हुनुपर्नेमा जोड दिदैं,सामाजिक सुरक्षाका छरिएका कार्यक्रमको एकीकृत व्यवस्थापन र नेपाल सरकारको अपनत्वमा वृद्धि जस्ता कार्य तत्काल गर्नुपर्ने आवश्यकता औल्याए। प्रमुख पौडेलले स्वास्थ्य सेवा प्रदायक संस्था र सेवा उपलब्धताका गुणस्तर निरन्तर वृद्धि गर्नुपर्ने भन्दै जन गुनासोको समयमै सम्बोधन गर्न सुझाव दिए ।

सो अवसरमा डा केसीले स्वास्थ बीमा कार्यक्रमका बर्तमान अवस्था र चुनौती बिषयमा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेल, नागरिक समाजका अगुवा रामबहादुर पौडेललगायतले स्वास्थ्य बीमाका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।