पोखराको फोहोर ७२ घण्टा भित्रमा उठाउन शुरु गरिने, फोहोर उठाउन महानगरलाई सघाउने दल र नागरिक समाजको प्रतिबद्दता


     एभरेस्ट आवाज    
     माघ २८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ २८

पोखराको फोहोरमा राजनीति नगर्ने दलहरुले प्रतिबद्दता जनाएका छन् । एक महिनादेखि पोखरामा फोहोर उठाउन नसकेपछि निकास खोज्न पोखरा महानगरपालिकाले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकमा दलहरुले फोहोरमा राजनीति नगर्ने घोषणा गरेका हुन् । फोहोरका कारण पर्यटनको राजधानी पोखरा दुर्गन्धित बनेको तथा यहि अवस्थामा पानी परेको खण्डमा हैजाजन्य महामारीको जोखिमसमेत निम्तिन सक्ने भन्दै उनीहरुले फोहोर व्यवस्थापनमा सघाउने वचन दिए । त्यसका लागि महानगरलाई अल्पकालीन र दीर्घकालीन नीति बनाउन आग्रह गर्दै सो नीति कार्यान्वयनमा सघाउने पनि उनीहरुको प्रतिबद्दता छ ।

दलहरु र नागरिक समाजको प्रतिद्दतासँगै पोखरामा एक महिनादेखि उठ्न नसकेको फोहोर उठ्ने विश्वास गरिएको छ । पोखरा–३२ मा अस्थायी रुपमा बनाइएको डम्पिङ साईड भरिएपछि पोखरा–३३ पुँडीटारमा फाल्ने प्रयास गरिएको थियो । त्यहाँ फोहोर प्रशोधन केन्द्र बनाउने महानगरको योजना भए पनि स्थानियले अवरोध गरेपछि पोखराको फोहोर उठ्न सकेको छैन । जसका कारण पोखराका चोकदेखि गल्लीगल्लीसम्म फोहोरका डंगुर जताततै बनेका छन् भने दुर्गन्ध पनि उत्तिकै फैलिएको छ । यहि कारण पोखरामा हैजाजन्य प्रकोप फैलिने त्रासमा पोखरेली छन् ।

बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले महानगरको निर्णयमा आफ्नो दलको सहमति रहने बताए । फोहोरका कारण पर्यटनको राजधानी दुर्गन्धित बनेको छ, र यहि कारण राष्ट्रिय, अन्र्तराष्ट्रिय रुपमा पोखराको बदनाम हुने स्थिति पैदा भएको छ,उनले भने,‘यस्तो अवस्थामा निकास दिनु अनिवार्य आवश्यक्ता हो । त्यसका लागि महानगरले बनाएको प्राविधिक टोलीले उपयुक्त स्थान तोकोस्, त्यस ठाउँमा फोहोर लैजानका लागि हाम्रो पार्टीले सहयोग गर्छ ।’ उनले फोहोरमा राजनीति गर्न नहुने भन्दै आफ्नो पार्टी त्यस्तो कार्य नगर्ने बताए । फोहोर फाल्ने कुरामा मेरो र तेरो वडामा फाल्न हुँदैन भन्ने हो भने कहिं पनि फाल्ने वातावरण बन्दैन,उनले भने,‘त्यसैले महानगरले तोकेको ठाउँमा फोहोर फाल्ने वातावरण बनाउन हामी तयार छौं, फोहोरमा राजनीति गर्ने पक्षमा हामी छैनौं र त्यस्तो हुन पनि दिन्नौं ।’

नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले महानगरको निर्णयमा कांग्रेसको सहमती हुने बताए । फोहोर नउठेर पोखरा दुर्गन्धित बन्द पोखरा र पोखरेलीको बदनाम हुने स्थिति आयो,उनले भने,‘बदल्यौं ‘कांग्रेस, बदल्छौं देश’ भनेर होमिएको पार्टीले फोहोरको डंगुरमाथि पार्टीको भविष्य देख्दैन, फोहोरको प्रदूषणमाथि स्वार्थको खेती गर्दैन । त्यसैले फोहोरमा राजनीति गरेर भोटको राजनीति गर्दैन ।’ उनले फोहोर व्यवस्थापनका लागि महानगरले आवश्यक ठानेर सहयोग मागेमा जस्तोसुकै जिम्मेवारी लिन पनि कांग्रेस तयार रहेको प्रष्ट्याए ।

नेकपा एमालेका उपाध्यक्ष भेषराज बरालले फोहोरको व्यवस्थापन गर्ने जिम्मा महानगरसँगै दलहरुको पनि भएकाले त्यो जिम्मेवारी लिन तयार रहेको बताए । तर स्थानिय सहभागीतामा हुनुपर्नेमा उनले जोड दिए । फोहोर व्यवस्थापनको एमाले फोहोरको राजनीति गर्दैन,उनले अगाडि थपे,‘तर कुनै पनि प्रदूषण नहुने गरी, स्थानियलाई कुनै असर नपर्नेगरी र स्थानियको सहभागीतामा व्यवस्थापन गरिनुपर्छ । र त्यसका लागि एमाले सघाउन तयार छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पोखरा महानगर समितिका सभापती मनहरीप्रसाद आचार्यले केहि परिचालित भएकाहरुले फोहोर व्यवस्थापनमा अवरोध गरेको दाबी गरे । त्यस्तालाई चिनेर कानूनी दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर केसीले एक महिनादेखि उठ्न नसकेको फोहोर व्यवस्थापन नै अहिलेको चुनौति भएकाले यसलाई अल्पकालीन समाधान खोजिनुपर्ने बताए । त्यसका लागि महानगरले नै स्थान तोक्नुपर्ने र त्यसमा आफूहरुको साथ, सहयोग र समर्थन रहने उनको भनाई थियो ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले दलहरुको प्रतिबद्दता आईसकेकाले अब महानगरपालिकाले बोल्ड निर्णय गरेर जानुपर्ने बताए । महानगरपालिकाको निर्णयमा नागरिक समाजको समर्थन रहने र आवश्यक परे कार्यान्वयनका लागि स्वयम्सेवक भएर काम गर्न पनि सघाउने प्रतिबद्दता उनले जनाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दलहरु र नागरिक समाजको प्रतिबद्दता अनुसार ७२ घण्टा भित्रमा पोखराको फोहोर उठाउने गरी महानगरपालिकाले निकास खोज्ने बताए । उनले हाललाई अस्थायी रुपमा फोहोर फालेर त्यसलाई १० ईञ्च माटोले पुर्नेगरी व्यवस्थापन गरिने बताउँदै भने,‘दलहरुको प्रतिबद्दता आए अनुसार महानगरपालिका अघि बढ्छ । र ७२ घण्टा भित्रमा पोखराको फोहोर उठाउनेगरी काम गर्छौं ।’ तर विगतमा जस्तो दोहोरो चरित्र नदेखाउन दलहरुलाई उनले आग्रह गरे । पहिले पनि दलहरुले प्रतिबद्दता जनाउने तर पछि गिजोल्ने प्रयास गर्दा अहिले जटिल समस्या भएको छ,उनले थपे,‘अहिले सार्वजनिक प्रतिबद्दता भएकाले त्यस्तो नदोहोरिने अपेक्षा गर्दछु ।’

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले महानगरको निर्णयलाई कार्यान्वयन गर्न प्रशासनले सघाउने बताए । तर त्यो निर्णय सहि हुनुपर्ने उनको भनाई थियो । फोहोरको मापदण्ड पूरा गरेको र स्थानियलाई असर नपर्नेगरी फोहोर व्यवस्थापन हुनुपर्छ,उनले भने,‘त्यस्तो अवस्थामा त्यसको कार्यान्वयन गर्न प्रशासनले पूर्ण रुपमा सहयोग गर्छ तर मापदण्ड पूरा हुनैपर्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।