महाविर पुन मत माग्न पोखरामा, भने : महाविर पुन मत माग्न पोखरामा : रिसाएर होईन, ठेस लागेर चुनाव लड्न आएको हुँ


     एभरेस्ट आवाज    
     फागुन १ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन १

प्रतिनिधि सभा सदस्यका उम्मेदवार महाविर पुन मत माग्दै पोखरा आएका छन् । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका पुन मत माग्न पोखरा आईपुगेका हुन् । म्याग्दीबाट अध्ययन, पेशा, व्यवसायका लागि आउनेको संख्या धेरै भएकाले उनी मत माग्न पोखरा आएका हुन् । विहीबार आएका उनी शुक्रबार पुन समाजले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रममा सहभागी भएर म्याग्दी फर्किएका छन् । मत माग्न भनेर हिजो आएको थिएँ,उनले भने,‘आज एक दुई ठाउँमा भेटघाट भयो, अब फर्किन्छु ।’

म्याग्देली मतदातासँग उनले सरकारमा रहँदा कानून बनाउने काममा ठेस लागेकाले चुनाव लड्न आएको बताए । मन्त्री भएका बेला शिक्षा क्षेत्रमा भएका विकृति र विसंगती रोक्न विधेयक बनाएको तर त्यसलाई कानूनमा परिणत गर्न नसकेपछि चुनावमा होमिएको उनको प्रष्टोक्ती थियो । भन्न त मलाई चुनाव गराउन आएको मान्छे भागेर आफै चुनाव लड्न गएको मान्छे पनि भन्छन्, कसैले बेवकुफसमेत भने,उनले थपे,तर म राजनीति गर्ने रहरले चुनाव लड्न आएको होईन । बरु सरकारको मन्त्री बनेका बेला शिक्षा क्षेत्र सुधार्ने अध्यादेशलाई कानून्मा परिणत गर्नका लागि मात्र संसदमा जाने उद्देश्यले चुनाव लड्न आएको हुँ ।’ उनले शिक्षा क्षेत्र सुधार्ने कानून बनाउन नसक्दा ठेस लागेको बताए । प्रधानमन्त्रीज्यूले म रिसाएर जानुभयो भन्नु भो,उनले भने,‘तर म रिसाएर सरकार छाडेको होईन । बरु ठेस लागेर हो । यदि अध्यादेश् आएको म चुनाव लड्न जाने थिईनँ । धोका खाएर आएको हो ।’

पूर्व शिक्षा मन्त्रीसमेत रहेका पुनले शिक्षा क्षेत्रमा भ्रष्टाचार रहेको बताए । शिक्षा क्षेत्र राजनीतिले गाँजिएको रहेछ, सिटीईभिटीले नाम मात्रको तालिम दिँदोरहेछ,उनले भने,‘त्यसैले यी सब सुधार्नका लागि विधेयक तयार गरेर अर्थमन्त्रालयदेखि क्याविनेटहुँदै राष्ट्रपतीसम्म पु¥याएँ । तर कानून् बनाउन त संसदबाट पारित हुनुपर्दो रहेछ ।’ उनले आफू सांसद नहुने हो भने त्यो विधेयक अरुले अगाडि नबढाउने देखेर चुनाव लड्नुपरेको जिकीर दोहो¥याए ।

पुनले आफू चुनाव लड्न आए पनि राजनीतिमा नआएको प्रष्टीकरण दिए । आफू अमेरिका छाडेर ३३ वर्षदेखि नेपालमा बसिरहेको बताउँदै भने,‘यत्तिका वर्ष कुनै पार्टीमा नलागेको मान्छे हो म । पार्टीमा लाग्नु भनेको राजनीति गर्नु हो । तर मैले राजनीति गरेको होईन । कुनै पार्टीमा लागेर, कुनै पार्टीको पुच्छर भएर हिंडेको प्रमाणित गर्नूस् । म त समाजसेवा गर्ने मान्छे हो ।’

उनले सांसदमा जिते पनि एक्लो सांसदले कसरी काम गर्छ भनेर खिसिट्यूरी गरेकोप्रति चित्त दुःखाए । त्यसको जवाफमा उनले भने,‘आफूजस्तै ईमान्दार, भ्रष्टाचार नगर्ने सांसदहरुलाई समेटेर टिम बनाउँछु । र शिक्षा क्षेत्र सुधार्ने कानून बनाउँछु ।’

पुनले चुनावमा मत माग्दा विकास गर्छु भन्नु झुठो आस्वासन मात्र भएको बताए । त्यसैले आफूले भोट दिने भए देउ, नत्र नदेउ भन्ने गरेको बताए । दलका उम्मेदवारहरुले पुल, अस्पताल, बाटो, स्कुल बनाउँछु । म यस्तो गर्छु, उस्तो गर्छु भन्छ अहिले,उनले भने,‘यदि भोलि अर्थमन्त्रालयले बजेट दिएन भने कसरी बनाउँछ ? त्यसैले यो झुठो आस्वासन हो ।’ उनले आफूले त्यस्तो झूठो आस्वासन दिएर मत नमाग्ने बताए । बरु म के वाचा गर्छु भने,उनले भने,‘चुनाव जितेपछि गाउँ फर्केर सबै ठाउँ डुल्छु । गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखसँग, वडाध्यक्ष र सबै जनप्रतिनिधिसँग छलफल गर्छु । संघसंस्थासँग छलफल गर्छु र सुझाव माग्छु । त्यसरी मागिएको सुझावमध्ये कुन कामचाहिं नगरी नहुने छ, त्यो कामलाई वार्षिक क्यालेण्डर बनाएर पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा गर्ने भनेर छुट्याउँछु ।’

कार्यक्रममा मतदाताले उम्मेदवार पुनलाई आर्थिक सहयोग गरे । पार्टीका उम्मेदवारले पैसा र मासु भात खुवाउँदा पनि कम सहभागी हुने मतदाता महाविरको कार्यक्रममा बाक्लो मात्रामा देखिए । जहाँ उनीहरुले महाविरलाई स्वेच्छिक रुपमा चुनावी खर्चका लागि आर्थिक सहयोग पनि गरे । कार्यक्रममा पुन समाजले २ लाख ५० हजार र अन्य सहभागीले स्वेच्छिक रुपमा १ हजारदेखि १५ हजारसम्म गरेर करीब ५ लाख आर्थिक सहयोग गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।