सिक्लेशवासीसँग राजकाजी : जलविद्युतबाट स्थानिय जनता लाभान्वित हुने वातावरण बनाउनुपर्नेमा जोड


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०८२ मा प्रकाशित




पोखरा, फागुन ६

कास्की क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङ घरदैलो गर्दै सिक्लेश पुगेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका उनी गुरुङको ऐतिहासिक थलो क्होंलासोंथर नजिकैको पर्यटकीय गाउँ सिक्लेश पुगेका हुन् । मादी गाउँपालिका १ मा पर्ने सिक्लेशमा पुग्दा उम्मेदवार गुरुङलाई स्थानियले भव्य स्वागत गरे । सिक्लेश आमा समूहले गुरुङको छोरा उम्मेदवार बनेर आएको भन्दै खादा र मालाले स्वागत गरेका थिए ।

कार्यक्रममा सिक्लेस आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङले क्षेत्र नम्बर १ मा गुरुङ समुदायको उम्मेदवार पाउनु समुदायका लागि खुशीको विषय भएको बताउँदै मतदान गरेर विजयी गराउनु आफूहरुको कर्तव्य भएको बताईन्। तर उनले सिक्लेससम्म पुग्ने सडकको अवस्था नाजुक रहेको भन्दै सुधारका लागि पहल गरिदिन अनुरोध पनि गरिन् । युवा व्यवसायी किरण गुरुङले भिजन भएका नेता राजकाजी गुरुङलाई जिताउन सम्पूर्ण गुरुङ समुदाय एकजुट हुनुपर्ने धारणा उनीहरुको थियो ।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार सोमती गुरुङ र दिलु पन्तले संविधानको रक्षा गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी भएकाले समानुपातिक मत पार्टीलाई दिन आग्रह गरे ।

प्रदेश सभाकी पूर्व सांसद गायत्री गुरुङले केन्द्रसँग प्रत्यक्ष सम्बन्ध भएका नेताका रूपमा राजकाजी गुरुङलाई विजयी गराउन अपिल गरिन् । पूर्व संविधान सभा सदस्य कृष्ण गुरुङले गुरुङ समुदाय विदेश पलायनभन्दा देशमै अध्ययन र विकासमा लाग्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य पूर्ण लामा तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले व्यवस्था र संविधान जोगाउन पार्टीलाई जिताउनुपर्ने धारणा व्यक्त गरे ।

उम्मेदवार राजकाजी गुरुङले सिक्लेस केवल पर्यटकीय गाउँ मात्र नभई गुरुङ समुदायको ऐतिहासिक थातथलो भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्ने प्रतिबद्धता जनाए । उनले पोखरा–सिक्लेस सडक सुधार, शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युत विकासलाई प्राथमिकतामा राख्ने बताउँदै जलविद्युतबाट स्थानीय जनता लाभान्वित हुने वातावरण निर्माण गरिनुपर्ने बताए । त्यसका लागि आफूले भूमिका खेल्ने उनले वाचा गरे ।

घरदैलो कार्यक्रममा प्रदेश कमिटी सदस्य तोरण गुरुङ, लालबहादुर गुरुङ, मादी गाउँपालिका अध्यक्ष मित्र गुरुङ, उपाध्यक्ष अन्जु गुरुङ, सचिव रामकृष्ण अधिकारीलगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत पर्छे, खिलाङ, चिप्ली, तप्राङलगायत स्थानमा पुगेर जनताका गुनासा सुन्दै गुरुङले सबै प्रकारका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।