प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शनगरेकी हुन् । मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । त्यस क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले प्रधानमन्त्री कार्कीसमक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए । विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिए ।
“मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री पूर्वाधारका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा योजना पुरातत्वमा फाइल पेस गरेका छौँ । स्वीकृत हुन ढिलाइ भएकाले काम अगाडि बढेको छैन, यस विषयमा प्रधानमन्त्रीको मौखिक ध्यानाकर्षण गराइएको छ”, उनले भने । जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा पुरातत्व विभागका महानिर्देशकसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले बताए । प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित नेपाल सेनाको इन्द्रबक्स गण गईन्।
प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिईन्। जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा उहाँले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन भएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिईन् । प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।”
प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएकी थिईन् । यसैगरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म भएका कार्यप्रगतिलगायत विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराए । त्यहाँको कार्यक्रम सकेर प्रधानमन्त्री कार्की पोखरा फर्किएकी छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न विश्विद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गरेकी छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






