तनहुँमा मतपत्र पुग्यो


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८२ मा प्रकाशित




यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ ।

तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो । तनहुँ क्षेत्र नं १ को मतपत्र दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को मतपत्र दुलेगौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिए । क्षेत्र नं १ प्रत्यक्षतर्फ एक लाख ३६ हजार र समानुपातिकतर्फ एक लाख ४२ हजार मतपत्र आएको छ । क्षेत्र नं २ प्रत्यक्षतर्फ एक लाख ३७ हजार र समानुपातिकतर्फ पनि एक लाख ३७ हजार मतपत्र आइपुगेको निर्वाचन अधिकारी लम्सालले बताए ।

निर्वाचनका लागि आवश्यकपर्ने अन्य सामग्री पनि व्यवस्थापनको काम सकिएको छ । निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्ति भई अब तालिम सञ्चालन गर्न लागिएको छ । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको लम्सालले बताए ।

निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्लाका दशवटै पालिकामा स्वयंसेवक परिचालन गरिएको हो । लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरे ।

विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने उनले बताए । कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।