कास्की-१ : एमाले उम्मेदवार अधिकारीको चुनावी अभियानमा प्रयोग गरिएको दुई वटा गाडीमा तरुण दलको तोडफोड


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन १४

नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएको दुई वटा गाडीमा ढुंगा प्रहार भएको छ । आफ्नो चुनावी अभियानका क्रममा मादी–११ उपल्लो साप्लेमा कार्यक्रम भइरहँदा तरुण दल सम्बद्द युवाहरुले ग.४ च.१०१५ र बा.९ च.८९ नम्बरको दुई वटा कारमा ढुंगा प्रहार गरेको उम्मेदवार अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानिय तरुण दलका नेता रिदम गुरुङलगायतका ४ जनाको समूहले गाडीमा तोडफोड गरेका हुन् ।

चुनावी अभियानमा सहभागी हुन पोखरा पव्लिक स्कुलका फाउण्डर कृष्ण केसीलगायत चढेर गएको गाडी पार्किङमा राखेको बेला कांग्रेसको हवाला दिदै गाडीमा प्रहार गरेको एमाले मादी गाउँपालिका अध्यक्ष सुवास सापकोटाले जानकारी दिए । उनका अनुसार गाडीका सिसाहरु फुटेका छन् भने ढोकामासमेत क्षेती पुगेको छ ।

उम्मेदवार अधिकारीले दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् । घटनाबाट आफू कत्तिपनि विचलित नभएको बताउँदै उनले भने,‘केहि आवारा तरुण दलका कार्यकर्ताले आक्रमण गर्दैमा नडराउने मान्छे होईन म । तर सुरक्षा चुनौति देखापरेको छ । राज्यले तुरुन्त पक्राउ गरेर उनीहरुलाई कारवाही गरोस् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।