सन्देश श्रेष्ठ
पोखरा, फागुन १५
नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पती छानविन गर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवा नेपाली कांग्रेसका निवर्तमान सभापती तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । २०४६ पछिको उच्च ओहोदामा रहेका सबैको एक, एक छानविन गर्ने बताउँदै उनले भने,‘सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पती छानविन गरिनेछ । मन्त्री भएको गगन थापाको सम्पती छानविन हुन्छ ।’
सभापती थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताए । त्यसबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेको उनको भनाई छ । बदलिएर आएको नया कांग्रेस हो यो,उनले भने,‘भ्रष्टाचारबाट मुक्ति दिलाउने कांग्रेसले संकल्प गरेर आएको छ ।’
सभापती थापाले चुनावले दुई अतिवादलाई प्रस्रय दिनसक्ने आशंका व्यक्त गरे । यो देशका लागि खतर्नाक हुने उनको भनाई छ । भदौ २३ गते अघि सबै ठीकठाक थियो भन्ने र भदौ २४ गते देश जलाउने र जेलबाट भाग्ने दुबै अतिवाद भएको उनको भनाई थियो । यी दुई अतिवादको हातमा जानु देशका लागि खतर्नाक हुन्छ,उनले भने,‘एउटा अतिवाद भदौ २३ गतेअघि देश ठीकठाक थियो भन्छ । भदौ २३ गतेको घटनालाई आकस्मिक दुर्घटनामात्रै मान्छ । अर्कोतर्फ त्यहि घटनालाई मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ । र जेलबाट पनि भाग्छ । यो दुबै अतिवाद हो र यो देशका लागि खतर्नाक छ ।’
त्यसैले यी दुई अतिवादको बिचबाट देशलाई सम्हाल्नुपर्ने अवस्थामा देश रहेको उनले बताए । भोलि पनि यो अतिवाद आउन सक्छ,उनले अगाडि भने,‘अबको पाँच वर्षको यो समय देशलाई सम्हाल्नु पर्नेछ । कुनै पनि खालको द्वन्द्व अब नेपालले खेप्न सक्दैन । न जातिय, न धार्मिक, न सहर गाउँ, न मधेश पहाड । त्यो कांग्रेसले सम्हाल्छ ।’
सभापती थापाले रास्वपाले बिना अनुभव र जानकारी देश दौडाउने कुरा गरिरहेको आरोप लगाए । रास्वपा सभापती रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह बालेनप्रति ईंगित गर्दै उनले भने,‘कोहि के भन्दैछ,–म यति अद्भुत मान्छे हुँ कि गाडी आफै गन्तव्यमा पुग्छ । अर्को मान्छे भन्दैछ म यस्तो अद्भूत क्षमता भएको मान्छे हुँ कि मैले चलाएपछि गाडी उड्छ ।’ यसले देश दुर्घटनामा पर्ने बताउँदै उनले भने,‘बिना अनुभव सवारी दौडाउने भनिरहेको छ । यो असम्भव छ ।’ त्यसैले हामी भनिरहेका छौं कि कुनै एक जनाले मात्रै गाडी चलाउने होईन । हामी सबै एउटै गाडीमा बस्ने हो । गाडी चलाउनेले पनि सबैको कुरा सुनेर चलाउने हो ।’ उनले कांग्रेस नेतृत्वमा अबको पाँच वर्ष देशलाई वेगसँग दौडाउने उनले बताए । तर वेगसँगै दौडाए पनि सम्हालेर चलाउने उनको भनाई थियो ।
सभापती थापाले कांग्रेस कार्यकर्तालाई एक बराबरको १० जना मतदाता आफ्नो पक्षमा पार्न निर्देशन दिए । बदलिएर आएको कांग्रेसले देश बदल्ने बताउँदै उनले भने,‘यतिले मात्रै चुनाव जितिदैन । चुनाव जित्नका लागि एक जना बराबर १० जना मतदाताकोमा पुग्नूस्, कांग्रेसलाई चिनाउनूस् र बुझाउनूस् ।’
कांग्रेस उप–सभापती विश्वप्रकाश लामिछानेले भदौ २३ गतेअघि देशमा सब ठीकठाक थियो भन्नु र केहि पनि भएन भन्नु दुबै गलत भएको बताए । देशलाई सम्हाल्ने तागत कांग्रेसमा मात्र रहेको र त्यो बदलिएको कांग्रेसले गर्ने उनको भनाई थियो ।
यसैबीच, सहकारी पीडितहरुले सभापती थापालाई ज्ञापन पत्र बुझाएका छन् । पोखराको चुनावी सभामा आएको मौका पारेर सहकारी पीडित संघर्ष समितिले थापालाई सहकारीको अपचलित रकम फिर्तालगायतका मागहरु रहेको ज्ञापन पत्र बुझाएका हुन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






