सहकारी ठगहरुलाई भोट नहाल्न सहकारी बचत पीडित संघको अपिल


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन १६

पोखरा सहकारी काण्डहरुको ईपिसेन्टर हो । यहाँ सूर्य दर्शन सहकारी, ईमेज सहकारी, बार्दली सहकारी, प्राईम सहकारी, मित्रमिलन सहकारी, पोखरा बचत तथा ऋण सहकारी, संघर्षशील बचत तथा ऋण सहकारीलगायतका आधा दर्जन सहकारीको बचत रकम हिनामिना भएको छ । यहाँ सबैभन्दा बढी सूर्य दर्शन सहकारीको १ अर्ब ५१ करोड रकम हिनामिना भएको भन्दै मुद्दा चलाइएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने, संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), पूर्व डिआईजी छविलाल जोशी, लीला पछाई, रामप्रसाद खनाललगायतबिरुद्द मुद्दा दर्ता भएको छ ।

सहकारीको बचत हिनामिना भएपछि संस्थागत संघर्ष समिति गठन गरेर आन्दोलन शुरु गरेको पनि पोखराले नै हो । सहकारी पीडित संघको नाममा संगठित भएर आन्दोलनमा उत्रिएको यसले दोषीलाई कारवाही र पीडितको बचत रकम फिर्ता गर्न माग गर्दै आएको छ । यस बिचमा संस्थाले मुद्दा लड्नेदेखि बचत रकम फिर्ताका लागि पहलसमेत गर्यो । तर जति गर्दा पनि न्याय नपाएपछि आक्रोषित बनेका पीडितहरुले त्यसलाई ब्यालेटमार्फत जवाफ दिने तयारी गरेका छन् ।

सहकारी पीडितहरु यहि फागुन २१ गते हुने निर्वाचनमा भाग लिने मूडमा छैनन् । आफ्नो बचत रकम हिनामिना गर्ने नेता नै दलको प्रमुख भएर चुनाव लड्न आएपछि उनीहरुलाई भोट हाल्न जाने जाँगर नचलेको हो । तर कथमकदाचित भोट हाल्न गईहाले पनि सहकारी ठगहरुलाई भोट नहाल्ने उनीहरुले घोषणा गरेका छन् । सहकारी बचत पीडित संघले शनिबार पोखरामा आयोजना गरेको ‘आसन्न निर्वाचनमा सहकारी पीडितले मतदान कसलाई, किन र के का लागि ? विषयक छलफलमा सहभागीहरुले रास्वपालाई ईंगित गर्दै सहकारी ठगहरुलाई भोट नहाल्ने कसम खाए । सहकारीको रकम फिर्ता ल्याउन गरिएको प्रयासमा रास्वपा सभापती रवि लामिछाने बाधक बनेको र उनकै कारण पीडितले बचत रकम फिर्ता नपाएको ब्रितान्त बताउँदै सहकारी पीडित संघका अध्यक्ष किरण श्रेष्ठले भने,‘हाम्रो रगत र पसिना बगाएर कमाएको रकम हिनामिना गर्ने र फिर्ता नगर्ने सहकारी ठगहरुलाई भोट हाल्दैनौं र नहाल्न अपिल गर्छौं ।’ रविले बारम्बार मिलाउँछु भन्दै पीडितलाई भ्रममा पार्ने गरेकोसमेत उनले आरोप लगाए । कहिले कास्की–२ का उम्मेदवार उत्तम पौडेल त कहिले सन्तोष परियारमार्फत काठमाडौं बोलाएर मिलाउँछु भनेको भन्दै उनले भने,‘तर अहिले आएर मैले सहकारीको रकम लिएकै छैन भन्नू सरासर झूठ हो ।’ अध्यक्ष श्रेष्ठले रविले पैसा लगेको छैन भन्नु सरासर झूठ भएको बताउँदै उनले सहकारी छानविन समितिका संयोजक सूर्य थापालेसमेत उन्मुक्ति दिनेगरी प्रतिवेदन बनाएको गुनासो गरे । सहकारीको रकम लगेको प्रमाण प्रशस्त रहेको बताउँदै उनले अगाडि भने,‘पेश्की रकम भनेर दिइएको छ । लगिदिने व्यक्ति अर्कै भएकाले रविको नाम देखिएन होला तर उनले १४ पटकसम्म त्यसको व्याज र किस्ता तिरेको प्रमाण छ । त्यसले नै उनले रकम लगेको प्रमाणित हुन्छ ।’

अध्यक्ष श्रेष्ठले सहकारी पीडितको बचत रकम जसलाई भोट हाल्दा फिर्ता हुन्छजस्तो लाग्छ त्यसैलाई भोट हाल्न आह्वान गरे । सहकारी ठगहरुलाई त हाल्दै नहाल्नुहोस्,उनले भने,‘भोट हाल्नुअघि हाम्रो बचत रकम कसले फिर्ता गर्छ ? कहिले गर्छ ? मुखले होईन, लिखित कागज गर्नेलाई भोट दिनूस् ।’

कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक घर भई पोखरा बस्दै आएकी धनकुमारी गुरुङलाई यस पटक भोट हाल्ने मन छैन । आफ्नो बचत रकम हिनामिना गर्ने व्यक्ति पार्टी बनाएर चुनावी मैदानमा आएकाले भोट हाल्ने जाँगर नआएको उनको भनाई छ । आफ्नै रकम हिनामिना गर्नेलाई भोट कसरी पो हाल्नु ? उनले भनिन्,‘नयाले सहकारी लुटे, पुरानाले देश लुटे । लखेट्नु पर्ने यिनीहरुलाई भोट हाल्ने मन छैन ।’

अर्का पीडित प्रेमबहादुर रानालाई पनि भोट हाल्ने मन छैन । पुरानाले भन्दा नयाले नै केहि गर्छ जस्तो त लागेको छ उनलाई, तर आफ्नो रकम हिनामिना गर्ने व्यक्ति नै नयाको नेतृत्वमा देख्दा मन कटक्क खाएको छ । अझ रवि लामिछानेले अदालतमा दिएको वयानमा सहकारीको रकम हिनामिना गर्ने व्यक्ति म नभई सिर्जनाचोकको रवि लामिछाने हो भनेर झूठो वयान दिएको देख्दा मन रोएको छ । पीडामा परेका आफूहरुसँग मत माग्न आउने नेताहरुलाई धिक्कार्दै उनले भने,‘कुन मुखले आउन सक्या होला ! लाज पनि नलाग्ने ।’ पुरानाले देश बनाउँछ भन्ने विस्वास नलागेको र नयाले आफूहरुकै रकम हिनामिना गरेकाले चुनावमा मत नदिने उनले स्पष्ट बताए । भने,‘चुनावमा भोट हाल्न मन छैन, तै पनि हेरौं चुनावको दिनसम्म मूड के हुन्छ ? ।’

अर्का पीडित गोपी दहाल सहकारी ठगहरुलाई भोट नहाल्ने अभियान चलाउनुपर्ने बताउँछन् । सहकारी पीडकका कारण आफूजस्ता हजारौं घरबारविहीन हुनुपरेको, त्यहि कारण विलखबन्दमा परेको भन्दै उनले भने,‘चुनाव बहिस्कार गर्ने होईन, सहकारी ठगहरुलाई भोट नहाल्ने हो । यो देशभरी नै अभियान चलाउँछौं ।’ रविलगायतका कारण आफूहरु अहिले रुँदै हिंड्नुपरेकाले त्यस्तालाई भोट हाल्न नसकिने उनको प्रष्टोक्ति छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।