राजकाजी गुरुङले कास्की–१ मा विकास र समृद्धिमार्फत जिल्लाको रूप फेर्ने एजेण्डासहित मत मागिरहेका छन्। जनआन्दोलन र जनयुद्धको जगमा स्थापित लोकतान्त्रिक व्यवस्थापछि कास्की-१ को चुनावी परिदृश्य फरक–फरक चरण पार गर्दै आएको छ। यही बदलिँदो परिवेशमा नेकपाको ‘तेस्रो जित’ निकाल्ने लक्ष्यसहित करण चुनावी मैदानमा उत्रिएका हुन्।
२०६४ को पहिलो संविधानसभा र २०६५ को उपनिर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभामा कांग्रेसले बाजी मारेको यो क्षेत्रमा गणतन्त्रपछिका दुई निर्वाचनमा एमालेले जित हात पारेको थियो। जेनजी विद्रोहपछिको नयाँ राजनीतिक तरंगमा भने करण आफूलाई “पुरानामध्ये नयाँ र नयाँमध्ये पुराना” उम्मेदवारका रूपमा प्रस्तुत गर्दैछन्।
पर्वतको पैयू गाउँपालिकामा २०३४ सालमा जन्मिएका करणको स्थायी बसोबास पोखरा–१३, भद्रकालीमा छ। विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय उनी जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि कास्कीमा निरन्तर क्रियाशील छन्। पहिलो संविधानसभामा कास्की–२ बाट निर्वाचित भएका करण यसपटक कास्की–१ बाट प्रतिस्पर्धामा छन्। उनी भन्छन्, “व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियानको नेतृत्व गर्छौं।”
इतिहास: रानाभाट–अधिकारीदेखि गुरुङसम्म
बहुदलपछि कास्की–१ मा सुरुका वर्षहरूमा मुख्य प्रतिस्पर्धा तारानाथ रानाभाट र खगराज अधिकारीबीच देखिन्थ्यो।
२०४८ मा रानाभाट विजयी भए।
२०५१ मा अधिकारीले नतिजा उल्ट्याए।
२०५६ मा पुनः रानाभाट विजयी भए।
पहिलो संविधानसभा (२०६४) मा देव गुरुङ विजयी बने। २०६५ को उपनिर्वाचनमा कृष्णबहादुर गुरुङले जित निकाले। २०७० मा यज्ञबहादुर थापा विजयी भए। २०७४ मा पुनः खगराज अधिकारी निर्वाचित भए भने २०७९ मा मनबहादुर गुरुङले जित हासिल गरेका थिए।
प्रतिस्पर्धा रोचक
कास्की–१ मा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरका ११ वडा पर्छन्। प्रतिनिधिसभातर्फ १७ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये एक जनाबाहेक सबै पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन्। परम्परागत रूपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दल पनि मैदानमा छन्।
समानुपातिकतर्फ एमालेले २१,४४३, कांग्रेसले १६,२६८, रास्वपाले १५,८६४ र नेकपाले ५,१०८ मत पाएको तथ्यांकले यहाँको बहुदलीय प्रतिस्पर्धा झल्काउँछ।
सम्भावनाको क्षेत्र, तर सदुपयोगको अभाव
करणको दाबी छ-कास्की–१ प्राकृतिक स्रोत–साधनमा धनी भए पनि सही नीति र दीर्घकालीन योजनाको अभावमा सम्भावना उपयोग हुन सकेको छैन। ऐतिहासिक थलो क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नसक्नु, पूर्वाधार र रोजगारीका अवसर सीमित रहनु जस्ता मुद्दा उनी उठाइरहेका छन्।
अनेरास्ववियु (क्रान्तिकारी) हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका करण पूर्व अर्थमन्त्री वर्षमान पुनका आर्थिक सल्लाहकारसमेत रहिसकेका छन्। उनले कास्की–१ का विभिन्न योजनामा बजेट विनियोजनका लागि पहल गरेको दाबी गर्छन्।
घरदैलो अभियानमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै उनी भन्छन्, “पुरानाले दुई तिहाइ हुँदा पनि देशलाई दिशा दिन सकेनन्, नयाँ शक्तिको उदय विवादास्पद देखियो। देशको समृद्धिको स्पष्ट खाका नेकपासँग छ।”
कास्की–१ मा फेरि वामशक्ति उदाउने कि परम्परागत प्रतिस्पर्धी दलले वर्चस्व जोगाउने-निर्णय अब मतदाताको हातमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






