नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाएका छन् ।
सो अवसरमा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न आफूलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन् । उनले विकासका मुख्य बाधकका रूपमा भ्रष्टाचारलाई औंल्याउँदै कडा नीति–कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत देशलाई सही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार आचार्यले राजनीतिको मूल सफा नभएसम्म समृद्धिको अभियान सफल नहुने उल्लेख गरे । ‘मुल धमिलो हुँदा सबै धमिलो हुन्छ,’ उनले भने, ‘त्यसैले देशलाई दिशानिर्देश गर्ने राजनीतिको मूल सफा पार्न म उम्मेदवार बनेको हुँ ।’उनले सुशासन विना समृद्धि सम्भव नहुने बताउँदै नीति निर्माणका तहमा इमान्दार र दृढ अडान आवश्यक रहेको धारणा राखे ।
भ्रष्टाचारको समूल अन्त्य गर्ने जनआकांक्षा विशेषगरी युवापुस्तामा प्रकट भएको उल्लेख गर्दै उनले त्यसलाई आफूले प्रमुख एजेन्डाका रूपमा अघि सारेको बताए ।आचार्यले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनले मुलुकलाई राष्ट्रिय संकटबाट पार लगाउने जिम्मेवारी बोकेको उल्लेख गरे । नियमित कार्यकाल पूरा नहुँदै संसद् विघटन भई समयअघि निर्वाचन हुन लागेको सन्दर्भ जोड्दै उनले मतदातालाई देश र विकास सम्झेर मत दिन आग्रह गरे । ‘देशलाई ठग्न खोज्नेहरू ठूलो स्वरमा बोलिरहेका छन्, तर देश बनाउनेहरू अठोटका साथ अघि बढिरहेका छन्,’ उनले भने, ‘अबको जनमतले विकास र जिम्मेवार नेतृत्वको पक्षमा फैसला गर्नुपर्छ ।’
सहकारी लगायतका क्षेत्रमा देखिएका ठगी प्रकरणबारे संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै उनले जनताका समस्यालाई नीतिगत समाधानतर्फ लैजानेमा उनको जोड छ । ‘देशलाई घात गर्ने र जनतालाई बेइमानी गर्नेहरूका विरुद्धमा दृढतापूर्वक आवाज उठाउनेछु,’ उनले थपे–‘कास्की र देशको शिर ठाडो पार्ने गरी जनताको मत र अभिमतको सम्मान गर्दै संसदमा तपाईंहरूको आवाज गुन्जाउनेछु ।’
निर्वाचित भएपछि नियमित रूपमा जनतासँग संवाद गर्ने, वडास्तरसम्म पुगेर सुझाव संकलन गर्ने र जनमैत्री कानुन निर्माणमा सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






