सन्देश श्रेष्ठ
पोखरा, फागुन २०
गण्डकीका सबै मतदान केन्द्रमा निर्वाचन तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकीले गण्डकीका ११ वटै जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा निर्वाचनको तयारी पूरा भएको जनाएको हो ।
गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमध्ये ९ लाख १४ हजार ८ सय पुरुष, ९ लाख ५५ हजार २ सय ५१ महिला र १४ जना अन्य मतदाता रहेका छन् । जसका लागि १ हजार २ सय ९७ मतदान स्थलका २ हजार ३ सय ९६ मतदान केन्द्र राखिएको गण्डकीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।
गण्डकीमा भारतसँग सिमाना जोडिएको नवलपुरको समथर भूमिमा रहेको विनय त्रिवेणी–२ स्थित जनजागृती आधारभुत विद्यालय र दीपेन्द्र मावि, सर्दीमा रहेको मतदान केन्द्रदेखि ४ हजार मिटर उचाईमा पर्ने मनाङको नार्पाभुमिसम्म, कास्कीको सडक पहुँचले नभेटेको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोमरोङदेखि हिउँ काटेर बाटो बनाइएको मुस्ताङको साङ्तासम्म मतदान केन्द्रहरु रहेका छन् । ती सबै मतदान केन्द्रहरुमा ५१ प्रकारका निर्वाचन सामग्रीहरु पुगिसकेको उनले जानकारी दिए । ५५ वटा मतदान सामग्री भए पनि अन्य ४ प्रकारका मतदान सामग्री मतगणनाका लागि कार्यालयमा राखिएका छन् । ती सबै मतदान केन्द्रहरुमा सोमबार साँझ नै मत पत्रसहितको मतदान सामग्री लिएर मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारीहरु पुगिसकेका छन्,उनले भने,‘त्यहाँ पुगेर मतदानका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि सर्वदलीय बैठक राखेर सहमति जुटाउनेसम्मका काम भइसकेका छन् ।’
गण्डकीमा संवेदनशिलताका आधारमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर मतदान केन्द्रलाई विभाजन गरिएको छ । भौगोलिक जटिलता, सुरक्षा थ्रेट, विगतको अनुभवलगायतलाई आधार मानेर मतदान केन्द्रको वर्गिकरण गरिएको उनले जानकारी दिए । संवेदनशीलता अनुसार नै सुरक्षा व्यवस्था पनि परिचालन गरिएको उनको भनाई छ । हरेक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा रहेर सुरक्षा दिने उनले बताए । ‘आवश्यक्ता अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएका छन्, सामान्यतयाः तीन घेरामा रहेर सुरक्षा दिनेछन् तर घटनाक्रम अनुसार आवश्यक परेमा तीन घेराको मापदण्ड मिचेर नेपाली सेना वा सशस्त्र प्रहरीले पनि आवश्यक कारवाही गर्न सक्ने व्यवस्था गरिएको छ’–उनले भने ।
मुख्य निर्वाचन अधिकृत बेलवासेले सबै मतदान केन्द्रमा अब मतदान गराउनका लागि तयारी अवस्थामा रहेको बताए । आवश्यक सबै तयारी पूरा भएको छ,उनले भने,‘अब मतदान शुरु गर्न मात्र बाँकी छ ।’ उनले मतदानका लागि सुरक्षा अवस्था पनि मजबुत रहेको बताए । ‘सुरक्षाको पनि कुनै समस्या छैन, तीन वटै निकायका सुरक्षाकर्मी खटिइसकेका छन्’–उनले भने ।
गण्डकीमा प्रतिनिधि सभाका लागि १८ निर्वाचन क्षेत्रमा २ सय ३४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन सम्पन्न गर्न गण्डकीमा १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयम्सेवक खटिदैछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







