सन्देश श्रेष्ठ
पोखरा, फागुन २१
गण्डकी प्रदेशमा करीब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । गण्डकीका ११ जिल्लामा करीब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको हो । यो अघिल्लो निर्वाचन भन्दा ५ प्रतिशत बढी हो । २०७९ सालको निर्वाचनमा ५५ प्रतिशत मत खसेको थियो ।
गण्डकीमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमध्ये करीब ११ लाख मत खसेको अनुमान गरिएको हो । गण्डकीको कास्कीमा सबैभन्दा धेरै ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ भने मनाङमा केवल ४०.५ प्रतिशत मत खसेको छ । हिमाली जिल्लामा सबै मतदाता घर नफर्केकोले त्यहाँ खसेको मत संख्या कम रहेको निर्वाचन कार्यालय गण्डकीको भनाई छ ।
कास्कीमा ६१ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । कास्कीमा कुल मतदाताको ६१.३४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
कास्कीमा कुल ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेका छन् । जसमध्ये विहीबार भएको निर्वाचनमा १ लाख ८९ हजार २ सय ६७ जनाले मतदान गरेका हुन् । कास्कीमा १ लाख ३ सय ५ महिला र ८८ हजार ९ सय ५९ जना पुरुषले तथा अन्य ३ जनाले मतदान गरेको बताइएको छ ।
कास्कीपछि अर्को धेरै मत खसेको जिल्ला लमजुङ हो । जहाँ ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । म्याग्दीमा ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । हिमाली जिल्ला मुस्ताङमा ५६ प्रतिशत मात्र मत खसेको छ भने गोरखामा करीब ४९.६४ प्रतिशत मत खसेको छ । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ जना र २ मा १ लाख ८ हजार ५ सय ३३ गरेर कुल २ लाख २९ हजार ५८ मतदाता रहेका छन् । जसमध्ये १ लाख १३ हजार ७ सय २५ जनाले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । उनका अनुसार सो जिल्लामा ५५ हजार १ सय ६३ पुरुष र ५८ हजार ५ सय ६२ महिलाले मतदान गरेका छन् ।
गोरखाको उत्तरी बेल्ट चीनसँग जोडिएको चुमनुब्री क्षेत्र हिमाली क्षेत्र भएको र त्यहाँबाट मतपेटिका पैदल ल्याउँदा ५ दिन लाग्ने भएकाले हेलिकोप्टरमार्फत शुक्रबार ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले जानकारी दिए ।
बागलुङमा भने ५२ प्रतिशत मात्र मत खसेको त्यहाँका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए । ढोरपाटन सहित दुर्गम क्षेत्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउन समय लाग्ने भएकोले शुक्रबार बिहानपछि मात्र गणना सुरु हुने उनले जानकारी दिए । ‘बागलुङको ढोरपाटन सहित दुर्गम क्षेत्रका मतपेटिका संकलन गर्न समय लाग्ने भएकोले शुक्रबार बिहानपछि मात्र गणना सुरु हुनेछ,’ उनले भने ।
अर्काे जिल्ला नवलपुरमा भने ५८ प्रतिशत मत खसेको छ । त्यहाँका निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले ५८ प्रतिशत मत खसेको जानकारी दिए । नवलपुरमा ६८ हजार २१ पुरुष र ८७ हजार ९ सय ३६ महिला र अन्य दुई जना गरी कुल १ लाख ५५ हजार ९ सय ५९ जनाले मतदान गरेको उनले बताए । नवलपुरको केहि मतदान केन्द्र पाल्पासम्म जोडिएकाले त्यहाँबाट मतपेटिका ल्याउन समय लाग्ने भएकाले शुक्रबार विहानबाट मात्रै मतगणनाको तयारी गरिएको उनले जानकारी दिए ।
स्याङजामा करीब ५१ प्रतिशत मात्र मत खसेको छ । कुल २ लाख ४८ हजार मतदाता रहेको स्याङजामा ७१ हजार पुरुष र ६० हजार महिला गरेर १ लाख ३१ हजारले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको त्यहाँका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
मनाङको नार र फू का मतपेटिका शुक्रबार ल्याइने
हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम ल्याईने भएको छ । मतदान सकिएको भएपनि मौसमी अवरोधका कारण हेलिकप्टर पुग्न नसक्दा विहीबार मतपेटिका सदरमुकाम चामे ल्याउन नसकिएको निर्वाचन आयोगले बताएको छ ।
जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले नार्पाभूमि गाउँपालिकाका मतपेटिका शुक्रबार मात्र ल्याइने जानकारी दिए । सदरमुकाम चामेबाट हिडेर दुईदिनमा पुगिने नार्पाभूमिका मतपेटिका ल्याउनका लागि हेलिकप्टर पठाउने भनिएपछि मौसमले साथ नदिएपछि शुक्रबार मात्र सदरमुकाम ल्याउने तयारी गरिएको उनले बताए ।
‘मौसम राम्रो भएन, बेलैमा हेलिकप्टर आएर जान सक्ने अवस्था पनि रहेन । त्यसैले शुक्रबार बिहान मात्र मतपेटिका सदरमुकाम चामे ल्याइनेछ,’ उनले भने । नार्पाभूमिमा पाँचवटा मतदान केन्द्र थिए । नार गाउँमा ३ वटा र फू गाउँमा २ वटा मतदान केन्द्र थिए । नार गाउँका १ देखि ३ वडाका मतपेटिका एकैठाउँ जम्मा गर्ने र फू गाउँका दुईवटा वडाका मतपेटिका एकैठाउँ संकलन गरेर हेलिकप्टर चामे झारिने उनले बताए ।
‘भौगोलिक रुपमा कठिन र चूनौतीपूर्ण मानिएको नार्पाभूमि बाहेक अन्यत्रका मतपेटिका भने गाडीबाटै ल्याउन सकिन्छ,’ उनले भने । हिमाली जिल्ला मनाङमा जम्मा ४०.५ प्रतिशत मत खसेको छ । जिल्लामा ७ हजार मतदाता थिए । चिसो छल्न सहर झरेका मतदाता घर नफर्केकोले कम मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी कुँवरले जानकारी दिए । चिसो छल्न सहर झरेका उच्च भेगका कतिपय मतदाता भोट खसाल्न भनेर गाउँ फर्केका थिएनन् । जाडो छल्न तल झरेका मतदातालाई घर फर्काउन हिउँ जमेर बाटो अवरुद्ध भएपछि सुरक्षाकर्मी लगाएर जमेको बरफ काटेर मतदानका कर्मचारी र मतदातालाई गाउँ फर्काइएको थियो ।
साङ्ताका ३६ मध्ये २९ मतदाताले मात्र भोट खसाले
हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङतास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा २९ जना मतदाताले भोट खसालेका छन । मतदानका लागि गाउँमा रहेका सबैजसो मतदाता आएर भोट खसालेको त्यहाँ खटिएका मतदान अधिकृतले बताएका छन ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीमा गाउँका ३९ जना मतदाताको नाम थियो । तर, ३ जनाको यसअघि नै मृत्यु भईसकेको छ । जम्मा ३६ जना मतदाता मध्ये २९ जना मतदाताले मतदानमा सहभागिता जनाएको मतदान अधिकृत राजेश गुप्ताले जानकारी दिए ।
‘गाउँमा रहेका २९ जना मतदाताले आएर भोट खसाले, बाँकी ७ जना मतदाता चिसो छल्न तल झरेकोमा उनीहरु फर्केका थिएनन,’ उनले भने, ‘ती ७ जना आउने अवस्था त थिएन, तर, हामीले दिउँसै बन्द गर्न मिलेन ।’ मतदानका लागि आउने थप मतदाता गाउँमा नभएपछि मध्यान्हपछिको समय कर्मचारी फुर्सदिला बनेका थिए । तर बेलुकी पाँचबजेसम्म कर्मचारीले अनुपस्थित मतदातालाई पर्खेका भने थिए ।
गुप्ताका अनुसार मध्यान्ह १२ बजेसम्म २९ जनाले भोट खसालिसकेका थिए। ‘गाउँमा रहेका मतदाताहरु बिहानै भोट खसाल्न आए । त्यसपछि गोठमा रहेका चारजनालाई पालो दिन एक समूह गोठ गएपछि गोठाला बसेका मतदाता बल्ल भोट खसाल्न आएका थिए । त्यसले गर्दा १२ बजे अघि नै भोट खसिसकेको थियो,’ उनले भने, ‘तर मतपेटिकाको सिल लगाउने काम भने बेलुकी पाँचबजे पछि मात्र भयो ।’
सदरमुकाम जोमसोमबाट ३९ किलोमिटर टाढाको यो गाउँ पुग्न जोमसोमबाट मोटरमा कम्तिमा ३ घण्टा लाग्छ । त्यही समय गुजार्दै निर्वाचनको टोली हिमाली आधारभूत विद्यालयमा निर्वाचन गराउन खटिएको थियो । मुस्ताङले निर्वाचनका लागि सबैभन्दा चूनौतीपूर्ण मतदानस्थलको रुपमा साङता गाउँलाई लिएको थियो । यो गाउँमा जम्मा १३ घर छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







