जेनजी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता लिन रास्वपालाई जेनजी आन्दोलनकारीको आग्रह


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन २७

जेनजी आन्दोलनकारीहरुले जेनजी आन्दोलनका मुद्दा फिर्ता लिईदिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ । जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत झण्डै दुई तिहाई सिट जितेर सरकार बनाउने निश्चित भएपछि जेनजी आन्दोलनकारीहरुले रास्वपा कास्कीमार्फत सभापती रवि लामिछाने र प्रधानमन्त्रीका रुपमा घोषित पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई मुद्दा फिर्ता लिईदिन आग्रह गर्दै आन्दोलनकारीको तर्फबाट ज्ञापन पत्र बुझाइएको हो । कास्की–१, २ र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई भने बोधार्थ पठाइएको पनि ज्ञापन पत्रमा उल्लेख छ । यी तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु बिजयी भएका छन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । पहिलो दिनको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्दा १९ जना बालबालिकासहित ७६ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्ट भदौ २४ गते आन्दोलनकारीले सिंहदरबार, सर्वोच्च अदालत, सरकारी कार्यालयहरु, प्रहरी कार्यालयहरुदेखि व्यक्तिको नीजि सम्पतीमासमेत तोडफोड र आगजनी गर्दा अर्बौंको क्षेती भएको थियो । त्यहि आन्दोलनको जगमा बनेको सुशील कार्की नेतृत्वको सरकारले पछिल्लो समय जेनजी आन्दोलनमा संलग्नहरुलाई पक्राउ गर्ने, मुद्दा चलाउने गर्दै आएको छ ।

सो धरपकड र मुद्दा चलाउने कार्यको विरोध गर्दै आएका जेनजी आन्दोलनकारीले बुधबार रास्वपा कास्कीका सभापती यदू अधिकारीलाई भेटेर जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता गर्नुका साथै पक्राउ परेका आन्दोलनकारीलाई बिना शर्त रिहा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आन्दोलनकारीका प्रतिनिधि राजन श्रेष्ठ र अभिभावकको तर्फबाट विवेक ताम्लीले बुझाएको ज्ञापन पत्रमा जेनजी आन्दोलन राजनीतिक प्रकृतिको भएकाले त्यसमा संलग्नलाई पक्राउ गर्नु र मुद्दा चलाउनु गलत हुने जिकीर गरेका छन् । ज्ञापन पत्र बुझाउँदै प्रतिनिधि श्रेष्ठले भने,‘राजनीतिक प्रकृतिका मुद्दा तत्काल फिर्ता लिन र आन्दोलनकारीमाथि भएको कानुनी कारबाही अन्त्य गर्न माग गर्दछौं ।’ उनले आन्दोलनकारीमध्ये कोहि चुनाव जितेर माननीय हुने र कोहिमाथि भने मुद्दा चलाएर थुनामा राख्दा उनीहरुमाथि अन्याय भएको बताए ।

ज्ञापन पत्रमा आन्दोलनका क्रममा दर्ता भएका सबै राजनीतिक प्रकृतिका मुद्दा तत्काल फिर्ता लिन, पूर्वपक्षका लागि थुनामा रहेका आन्दोलनकारीलाई बिना शर्त तत्काल रिहा गर्न र आन्दोलनमा संलग्नमाथि राजनीतिक प्रतिशोध वा कानुनी दबाब नपर्ने सुनिश्चितता गर्न माग गरिएको उनले जानकारी दिए ।
ज्ञापनपत्रमा रास्वपा सरकार बनेपश्चात लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको संरक्षण हुने अपेक्षा गरिएको छ ।

ज्ञापनपत्रमा दिपु साई, नारायण साई, समर नाल्मी, रेजन रञ्जित, केशव बमजन, खड्कबहादुर थापा, बुद्ध खवास, विना मल्ल, रिदम कार्की, एलिसा गुरुङ, रूपक नेपाली, महेन्द्र नेपाली, सागर रावत र अनिल पौडेललगायतलाई आन्दोलनकारी पीडितका रूपमा नामावली प्रस्तुत गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।