सन्देश श्रेष्ठ
पोखरा, फागुन २७
गण्डकी प्रदेशमा समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ । गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ गण्डकीको १८ निर्वाचन क्षेत्रमध्ये १५ सिट जितेर पहिलो बनेको रास्वपा समानुपातिकतर्फ पनि ५ लाख २५ हजार ६ सय ३५ मतसहित पहिलो पार्टी बनेको हो । यो अघिल्लो चुनाव २०७९ को भन्दा झण्डै तेब्बर मत अर्थात ३ लाख ४८ हजार ६ सय १० मत बढी हो । २०७९ को चुनावमा रास्वपाले गण्डकीमा १ लाख ७७ हजार २५ मत प्राप्त गर्दै तेस्रो दल बनेको थियो ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको एमालेले समानुपातिकतमा यस वर्ष १ लाख ५२ हजार ५ सय ८७ मत प्राप्त गरेको छ । यो अघिल्लो चुनाव २०७९ को भन्दा १ लाख ७२ हजार २ सय ९५ मत कम हो । अघिल्लो चुनावमा एमालेले ३ लाख २४ हजार ८ सय ८२ मत प्राप्त गरेको थियो ।
अघिल्लो चुनावमा गण्डकीमा सर्वाधिक मत ल्याउने पार्टीको दोस्रो स्थानमा रहेको कांग्रेस यस वर्ष मत घटे पनि यथास्थानमा छ । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये २ हिमाली जिल्लाको २ सिट मात्र जितेको कांग्रेसले अहिलेको निर्वाचनमा २ लाख ७ हजार ३ सय ८७ मत प्राप्त गरेको छ । यो अघिल्लो निर्वाचनको तुलनामा १ लाख ५ हजार ३ सय ९३ मत कम हो । अघिल्लो निर्वाचन २०७९ मा कांग्रेसले गण्डकीमा ३ लाख १२ हजार ७ सय २० मत प्राप्त गरेको थियो ।
नेपाली कम्युनिष्ट पार्टीले अघिल्लो निर्वाचनको तुलनामा झण्डै आधा मत गुमाएर चौथो स्थानमा यथावत छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेर निल बनेको नेकपाले अहिलेको निर्वाचनमा केवल ५७ हजार ८ सय ७६ मत ल्याएको छ । यो अघिल्लो चुनावको भन्दा ५० हजार ५ सय ९१ मत कम हो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ २ सिट जितेको तत्कालीन नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १ लाख ८ हजार ४ सय ६७ मत प्राप्त गरेको थियो ।
राप्रपाले पनि अहिलेको निर्वाचनमा मत घटाएर पाचौं पार्टी बनेको छ । प्रत्यक्षतर्फ निल रहेको राप्रपाले २३ हजार ५ सय ५६ मत प्राप्त गरेको छ । यो अघिल्लो निर्वाचनको भन्दा १५ हजार २ सय ७८ मत कम हो । अघिल्लो निर्वाचनमा राप्रपाले ३८ हजार ८ सय ३४ मत ल्याएको थियो ।
राष्ट्रिय जनमोर्चा पनि मत गुमाएर ७ हजार ७ सय ७० मतमा सिमित भएको छ । अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मत पाएको जनमोर्चाले यस वर्ष २ हजार २ सय बढी मत गुमाएको छ ।
यस वर्षको पहिलो चुनावबाटै राष्ट्रिय पार्टीमा दरिएको श्रम संस्कृति पार्टीले गण्डकीबाट १८ हजार ९ सय ९५ मत प्राप्त गरेको छ ।
समानुपातिक निर्वाचनका लागि गण्डकीमा ५७ दल प्रतिष्पर्धामा थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







