सन्देश श्रेष्ठ
पोखरा, फागुन २८
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको हृदयघात भएर निधन भएको छ । पार्टीको जिल्ला ईञ्चार्ज सरह कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज कास्की निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी समीक्षा बैठकमा सहभागी भएको बेला ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
पोखराका पूर्व मेयरसमेत रहेका थापालाई प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला हृदयघात भएको थियो । समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्दै कुर्सीमा बसेका उहाँ बेहोस् हुनु भएको थियो,उनले भने,‘लगत्तै कारमा राखेर ९ मिनेटमै मनिपाल शिक्षण अस्पताल पु¥याए पनि बचाउन सकिएन ।’ उनका अनुसार दिउँसो करीब २ः४५ तिर थापालाई हृदयघात भएको थियो । लगत्तै अस्पताल पु¥याउँदा करीब २ः५४ भएको थियो । अस्पताल लगेर चेकजाँच गर्दा रिपोर्ट नकारात्मक आएको र चिकित्सकले धेरै प्रयास गर्दा पनि सुधार नआएपछि अस्पतालले ३ः३७ बजे निधन भएको घोषणा गरेको थियो ।
थापालाई ब्लड प्रेसर लो सम्बन्धि समस्या रहेको बताइएको छ । यद्वपी औषधी सेवन भने गर्थेनन् ।
थापा तत्कालीन पोखरा नगरपालिकामा २०५४–२०५९ मा मेयर भएका थिए । पोखराको आधुनिक बाटो निर्माणको जस उनैलाई जान्छ । उनकै पालामा पोखराको न्यूरोड चक्ल्याइएको हो । सानो साँघुरो बाटोलाई चक्लाई फराकिलो बाटो बनाएर पोखराको विकासमा उनले महत्वपूर्ण योगदान दिएको चर्चा पोखरामा गरिन्छ । त्यतिमात्र होईन ‘श्रम सीप जुटाऔं, पोखरालाई उठाऔं’, ‘सफा, सुन्दर र स्वच्छ पोखरा’ बनाउने अभियानका अभियन्तासमेत रहेका उनलाई पोखरालाई अन्र्तराष्ट्रिय सहरसँग सम्बन्ध स्थापित गर्ने श्रेय पनि जान्छ । उनकै पहलमा जापानको कोमागाने सहरसँग पोखराको भगिनी सम्बन्ध स्थापित भएको एमाले नेता झपट रानाभाट बताउँछन् । पछि त्यहि सहरको नाममा पोखरा–६ लेकसाईडमा कोमागाने पार्क र पोखरा–१६ बाटुलेचौरमा कोमागाने जिल्ला अस्पताल निर्माण गर्नमा पनि थापाकै योगदान रहेको उनले बताए । त्यस्तै उनैको पालादेखि विविध क्षेत्रमा योगदान गर्ने पोखरेलीहरुलाई ‘पोखरा नवरत्न सम्मान’ले सम्मान गर्ने संस्कृतिको विकास भएको रानाभाटले बताए । थापालाई स्मरण गर्दै उनले भने,‘श्रमको सम्मान गर्ने संस्कृति र महिला सशक्तिकरणमा पनि उनको उत्तिकै योगदान छ ।’ उनका अनुसार महिला सशक्तिकरण ९पिडिडीपी० अभियान उनकै पालादेखि शुरु गरिएको हो ।
अनेरास्ववियुको एकताको पाचौंका पूर्व केन्द्रीय सदस्य, सो संगठनका कास्की र गण्डकी अञ्चलका पूर्व अध्यक्षसमेत रहेका उनी एमाले कास्कीका संस्थापक पार्टीका सेक्रेटरी हुन् । निरन्तर पार्टी नेतृत्वमा रहेका थापा पछिल्लो समय विद्यादेवी भण्डारी निकट मानिन्थे ।
एमालेको गढ मानिने कास्कीमा एमाले बढारिएपछि भने उनी चिन्तामा थिए । कास्की–२ मा टिकट पाएर पाएका उनको टिकट खोसेर रस्मी आचार्यलाई दिइएको थियो । यसअघि २०७४ सालको चुनावमा कास्की–२ ९क०बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापा २०७९ सालमा पोखराको मेयरको उम्मेदवार बनेका थिए । तत्कालीन समयमा शुरुमा मेयरको टिकट पाएका दीपक पौडेल विवादमा आएपछि उनको टिकट खोसेर थापालाई टिकट दिइएको थियो । तर उक्त चुनावमा उनले हालका मेयर धनराज आचार्यसँग पराजय बेहोर्नुपरेको थियो । संयोग कस्तो भने पहिले पोखराको मेयरमा दीपक पौडेलको टिकट खोसेर थापालाई दिइएको थियो, तर अहिले प्रतिनिधि सभाको निर्वाचनमा उनै थापाको टिकट खोसेर रस्मी आचार्यलाई दिइएको थियो ।
अघिल्लो चुनावमा पौडेलको टिकट खोसिएर थापाले पाएका थिए । तर यसपटक ठीक विपरित थापाको टिकट खोसेर रस्मी आचार्यलाई दिइएपछि उनी असन्तुष्ट सुनिएका थिए । चुनावको मुखमा असन्तुष्टि सार्वजनिक भएपछि एमाले कार्यकर्ताले उनको आलोचना गरेका थिए । चुनावमा अनपेक्षित परिणाम आएपछि थापा चर्को दवाबमा परेका थिए । त्यहि चुनावको समीक्षा गर्न विहीबार बैठक राखिएको थियो । बैठकमा ईतर पक्षले उनको कार्यशैली र अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए । जवाफमा उनले कास्कीमा भएको हारको जिम्मा लिने बताएको श्रोत बताउँछ । बैठकमा उनले भनेका थिए,‘पार्टीले बेहोरेको क्षेतीको जिम्मा म लिन्छु ।’ तर त्यसो भनेको केहिबेरमै उनी अस्ताएका छन् ।
थापाको निधनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोक व्यक्त गरेका छन् । पूर्व मेयर थापाप्रति भावपूर्ण श्रद्दाञ्जली व्यक्त गर्दै मेयर आचार्यले पोखराको विकासमा थापाले पु¥याएको योगदानको स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा उनले लेखेका छन्,‘पोखरा नगरपालिकाको नेतृत्वमा रहि समग्र पोखराको विकास र समृद्दिमा यहाँले पु¥याउनु भएको योगदानको पोखरा र पोखरेली नागरिकहरुले सदैव स्मरण गरिरहनेछन् ।’
गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पूर्व मेयर थापाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भनेका छन्,‘पोखराको विकास, सामाजिक रुपान्तरण र जनसेवाका क्षेत्रमा पु¥याउनु भएको योगदान सँधै स्मरणीय रहनेछ ।’
यसैबीच, नेकपा एमाले कास्कीले पूर्व मेयर तथा नेता थापाको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जारी गरेको शोक वक्तव्यमा थापाप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोकाकुल थापा परिवारमा समवेदना व्यक्त गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






