पोखराका पूर्व मेयर थापाको गरियो अन्त्येष्टि

- भोलि पोखरा महानगरभरी शोक विदा


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन ३०

पोखराका मेयर कृष्ण थापाको आज सम्मानका साथ अन्येष्टि गरिएको छ । विहीबार निधन भएका पोखराका पूर्व मेयर तथा एमाले नेता थापाको आज सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको आज अपराह्न थापा निवास बाटुलेचौरबाट शवयात्रासहित लामाचौरहुँदै गोस्तेघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गिय थापालाई उनका छोरा प्रतीक थापा र भाई मोहन थापाका छोराहरुले दागवत्ती दिएका थिए ।

अन्येष्टि अघि स्वर्गिय थापाको पार्थिव शरिर अन्तिम विदाईका लागि नेकपा एमाले कास्कीको पार्टी कार्यालय, पोखरा महानगरपालिका कार्यालय र थापा निवास बाटुलेचौरमा राखिएको थियो । श्रद्दाञ्जली अर्पण गर्नका लागि एमाले पार्टी कार्यालयमा ७ः३० बजेदेखि १० बजेसम्म राखिएको थियो । जहाँ एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, सचिव खगराज अधिकारी, सचिव पद्मा अर्याल, पोलिट्ब्यूरो सदस्य जगतबहादुर विश्वकर्मालगायतले श्रद्दाञ्जली अर्पण गरेका थिए । सो अवसरमा पार्टी उपाध्यक्ष गुरुङले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

थापाको पार्थिव शरिर पोखरा महानगरपालिका कार्यालयमा १० बजेदेखि १०ः४५ बजेसम्म राखिएको थियो । जहाँ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । त्यसपश्चात भने थापाको पार्थिव शरिर पृथ्वीचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, नदीपुर, बगरहुँदै बाटुलेचौरस्थित थापा निवास पु¥याइएको थियो । थापा निवासमा करीब १२ः४५ बजेसम्म राखेर शवयात्रासहित अन्येष्टिका लागि गोस्तेघाट पु¥याइएको एमाले नेता झपट रानाभाटले जानकारी दिए ।

गोस्तेघाटमा पार्टीका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलगायतले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । सो क्रममा बोल्दै उपाध्यक्ष गुरुङले स्वर्गिय थापा क्रान्तिकारी नेता भएको बताए । २०३५÷३६ सालदेखि थापा कास्कीका अगुवा नेता हुनुहुन्थ्यो,उनले भने,‘कास्कीमा एमाले स्थापित हुनुमा उहाँको महत्वपूर्ण योगदान छ ।’

एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको विहीबार हृदयघात भएर निधन भएको थियो । पार्टी कार्यालय कास्कीमा प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा बैठकमा बोलेर बसेलगत्तै उनलाई हृदयघात भएको थियो । तत्कालै मनिपाल शिक्षण अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

थापा तत्कालीन पोखरा उप–महानगरपालिकामा २०५४–२०५९ मा मेयर भएका थिए । थापाको निधनको शोकमा पोखरा मानगरपालिकाले आईतबार शोक विदा दिएको छ । साथै तीन दिन महानगरका सबै कार्यालयमा राष्ट्रिय झण्डा र महानगरपालिकाको झण्डा आधा झुकाउने निर्णय भएको मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत रहेका थापा आधुनिक पोखरा निर्माणका शुरुवातकर्ता पनि हुन् । पोखराको बाटो चक्ल्याउने अभियन्तासमेत रहेका थापाले शिक्षा, स्वास्थ्य र संगीतमा पनि महत्वपूर्ण योगदान दिएका थिए । साथै अन्र्तराष्ट्रिय सहरसँग पोखराको सम्बन्ध गाँस्ने शुरुवात पनि उनैको पालादेखि शुरु भएको हो । जापानको कोमागाने सहरसँग पोखराको भगिनी सम्बन्ध स्थापना गरेका उनले पोखरा–६ लेकसाईडमा कोमागाने पार्क, पोखरा–१६ बाटुलेचौरमा कोमागाने अस्पताल निर्माणसमेत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।