गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड तीन प्रतिशत मत पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।
निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई आज ५ः०० बजेसम्म क्लष्टर मिल्नेगरी निर्वाचित उम्मेदवारको नाम पेस गर्न गत फागुन २८ गते पत्रात्रार गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
रास्वपाले क्लष्टर अनुसार ५७ सांसद निर्वाचित भएको विवरण पठाउनुपर्नेछ । यसैगरी कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना उम्मेदवार निर्वाचित भएको सूची क्लष्टर मिलाएर आज साँझ ५ः०० बजेसम्म आयोगमा पेस गर्नुपर्ने उनले बताए । दलबाट आएको नाम तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा भए आयोगले आजै निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । नमिलेमा फेरि सच्याउन समय तोकिने प्रवक्ता जिसीले उल्लेख गर्नुभयो । समानुपातिक प्रणालीबाट ११० जना उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ ।
रास्वपाको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताए ।
समानुपातिक सांसद छान्न नेपाली कांग्रेस र राप्रपाको बैठक जारी छ । एमालेले हिजै सांसद छानेको थियो भने श्रम संस्कृति पार्टीले पनि समानुपातिक सांसद छनौट गरिसकेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






